‘कोरोना देखिँदैमा प्रहरी हतोत्साही हुँदैन’
काठमाण्डौ । काठमाण्डौको महानगरीय प्रहरी वृत्त कालीमाटीका दुई प्रहरीमा कोभिड–१९ सङ्क्रमण देखिएपछि वृत्तलाई सिल गरेर राखिएको छ । अहिले महानगरीय प्रहरी परिसरको टोलीलाई त्यस क्षेत्रमा खटाइएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलका अनुसार एक जना प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षकलाई कोरोना देखिएको हो । त्यसपछि वृत्तलाई नै सिल गरिएको उहाँले जानकारी दिनुभयो ।
दुई दिनअघि यहाँका १९ प्रहरीको पीसीआर परीक्षण गरिएकोमा दुई जनामा कोभिड–१९ देखिएको थियो । यहाँ रहेका झण्डै ९२ सहित गरेर २०० प्रहरीको परीक्षण गर्नुपर्न आवश्यकता देखिएकाले सबैलाई क्वरेण्टीनमा राखिएको पोखरेलले बताउनुभयो ।
अग्रपङ्क्तिमा बसेर काम गर्ने प्रहरीमा कोभिड–१९ लाग्छ भन्ने कुरा स्वभाविक आँकलन रहेकाले सङ्क्रमण हुँदैमा प्रहरी हतोत्साही नहुने उहाँले बताउनुभयो । विश्वव्यापी महामारीको रुपमा फैलिएको विषम परिस्थितिमा देेशमा सङ्क्रमण फैलिन नदिन प्रहरीले अझै दृढ विश्वासका साथ आफ्नो कर्तव्यमा खटिनेसमेत उहाँले बताउनुभयो ।
प्रकाशित मिति: ८ जेठ २०७७, बिहीवार ०७:१० बजे