हेटौँडामा सङ्क्रमितको उपचार गरेको अस्पतालका पाँच डाक्टरसहित २२ क्वारेण्टाइनमा
हेटौँडा । हेटौँडा अस्पतालमा उपचार गराएकी एक महिलामा कोरोना सङ्क्रमण भएको पाइएपछि हेटौँडा अस्पतालका पाँच जना डाक्टरसहित २२ जनालाई क्वारेण्टाइनमा राखिने भएको छ ।
छ दिनअघि अस्पतालमा उपचार गराएकी महिलामा कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि अस्पताल विकास समितिको शनिबार यहाँ बसेको आकस्मिक बैठकले अस्पतालका कर्मचारी, डाक्टरसहित स्वास्थ्यकर्मीलाई क्वारेण्टाइनमा राख्ने निर्णय गरेको हो ।
काठमाडौँमा स्वाबको पीसीआर परीक्षण गराउँदा हेटौँडाका ५४ वर्षीय महिलामा कोरोना सङ्क्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार नियमति पत्रकार सम्मेलनमा सार्वजनिक गरेको गरेको थियो ।
कोभिड १९ सङ्क्रमित महिलासँग प्रत्यक्ष सम्पर्क रहेका डाक्टर, नर्सलगायतका स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई क्वारेण्टाइनमा राख्ने निर्णय भएको हेटौँडा अस्पताल कोरोना यूनिटका प्रमुख डाक्टर हरिबहादुर खड्काले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘सकेसम्म होम क्वारेण्टाइनमा राख्ने व्यवस्था गर्नेछौँ । असम्भव भए क्वारेण्टाइनको व्यवस्था अस्पतालले गर्नेछ ।’ उहाँका अनुसार पहिलो चरणमा उपचारको क्रममा प्रत्यक्ष सम्पर्कमा आएकाहरूलाई क्वारेण्टाइनमा राखिने र स्वाब परीक्षणपछि आउने नतिजाका आधारमा अन्यलाई क्वारेण्टाइन वा आइसोलेसनमा राख्न आवश्यक आवश्यक प्रक्रिया अगाडि बढाइने छ ।
अस्पतालका १५० जना कर्मचारीमध्ये ६६ जनाको शुक्रबार नै स्वाब सङ्कलन गरी परीक्षणका लागि हेटौँडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक प्रयोगशाला पठाइसकिएको छ ।
शनिबार थप ३५ जनाको स्वाब सङ्कलन भएको छ । साथै सङ्क्रमित महिलासँग सम्पर्कमा आएका डाक्टर, नर्स र कर्मचारीलगायतको कन्ट्याक्ट ट्रेसिङ र खोजी कार्य सुरु गरिएको छ । हेटौँडा उपमहानगरपालिका ४ घर भएकी ती महिला वैशाख ४ गते बिहान असहज भएको भन्दै उपचारका लागि हेटौँडा अस्पताल आउनुभएको थियो । अस्पतालमा छ घण्टाको उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार नियमति पत्रकार सम्मेलनमा हेटौँडाका एक महिलामा कोरोना सङ्क्रमण भएको भन्दै गलत ठेगाना सार्वजनिक गर्दा स्थानीयमा त्रास सिर्जना भएको थियो । मन्त्रालयले हेटौँडा ३ का ५४ वर्षीय महिलामा कोरोना भाइरस सङ्क्रमण भएको सार्वजनिक गरेको थियो । हेटौँडा ३ हेटौँडा उपमहानगरपालिकाको नयाँ संरचना बन्नुपूर्व बजार क्षेत्र रहेकोमा हाल बसामाडी क्षेत्रमा पर्ने भएकोले दुवै क्षेत्रका नागरिक गलत ठेगाना सार्वजनिक हुँदा त्रसित बन्न पुगेका थिए । तर पछि ती महिला हेटौँडा ४ हुप्राचौर क्षेत्रको रहेको खुल्न आएको र गलत ठेगाना सार्वजनिक भएको बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयका कोभिड १९ का प्रवक्ता डाक्टर पुरुषाेत्तमराज सेडाइँले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमित महिलाको घर, हेटौँडा अस्पताल र त्रिवि शिक्षण अस्पतालमा हाल कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको छ । ती महिलामा हेटौँडा हुँदै वा त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा कोरोना सङ्क्रमण भएको भन्ने यकिन भएको छैन ।
प्रकाशित मिति: १० जेठ २०७७, शनिवार २१:१५ बजे