२३ मंसिर २०८१, आइतवार

रुकुम घटनाको विरोधमा काभ्रेपलान्चोक जिल्लामा ज्ञापनपत्र सहित प्रदर्शन

रुकुम हत्याकाण्डको दोषीलाई कारबाहीको माग सहित अनेरास्ववियू काभ्रेले बुझायो ज्ञापनपत्र ।

काभ्रे । शनिबार रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाको विरोधमा काभ्रेपलान्चोक जिल्लामा जिल्ला स्थित विभिन्न राजनीतिक पार्टीहरुको उत्पीडित जनवर्गिय संगठनहरुले प्रदर्शन गरिएको छ । साथै जिल्ला स्थित विभिन्न राजनीतिक पार्टीहरुको उत्पीडित जनवर्गिय संगठनहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । जातिय संगठनसँगै अनेरास्ववियु काभ्रेले पनि सोहि घटनाको विरुद्धमा ज्ञापन पत्र बुझाएको छ । जिल्लाको सदरमुकाम धुलिखेल सरस्वती बजारमा जिल्ला स्थित विभिन्न राजनीतिक पार्टीहरुको उत्पीडित जनवर्गिय संगठनहरुले विरोध प्रदर्शन गरेको हो ।

जेठ १० गते साँझ रुकुम चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा जाजरकोटका ६ जना युवक भेरी नदीमा बेपत्ता भएका थिए। बेपत्तामध्ये यसअघि ४ जनाको शव भेटिइसकेको छ भने २ जना अझै बेपत्ता छन्।  भेरी नगरपालिका वडा नं ११ का गोविन्द शाही र वडा नं ४ का सन्दीप विक अझै बेपत्ता छन् ।

नवराज बिक मल्ल थरकी आफ्नी प्रेमिकासँग बिहेका लागि ‘भगाउन’ भन्दै १० जेठ साँझ आफ्ना १७ जना साथीसहित प्रेमिका​को गाउँ सोती पुगेका थिए। त्यहाँ पुग्दा नपुग्दै गाउँलेले लखेटेपछि उक्त घटना भएको थियो। 

घटना पछि प्रहरीले वडाध्यक्षसहित १२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।  घटनाबारे निष्पक्ष छानबिन हुनुपर्ने, पीडित परिवारलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने, घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउनुपर्ने, बेपत्ताको तत्काल खोजी गर्नुपर्ने लगायत माग राखी जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकमा संयुक्त राजनीतिक पार्टीहरुको उत्पीडित जनवर्गिय संगठनहरुले ज्ञापनपत्र बुझाएका हुन् ।

उक्त कार्यक्रममा नेपाल उत्पीडित जातिय मुक्ति मुक्ति समाजका अध्यक्ष खड्गबहादुर पुर्काेटी, दलित मुक्ति मोर्चा नेपालका संयोजक बालकृष्ण पुर्काेटी, नेपाल दलित संघका अध्यक्ष उस्पर सुनार, नेपाल दलित मुक्ति मोर्चाका सचिव जीवन मग्रातिले हस्ताक्षर गरेको ज्ञापन पत्र बुझाउन संविधान सभा सदस्य तेजबहादुर मिजार, मुक्ति मोर्चाका केन्द्रिय सदस्य विष्णु मिजार, नेकपा जिल्ला कमिटी सदस्य प्रकाश रोक्का, विष्णु मिजार ‘सागर’, मुक्ति समाजका जिल्ला सचिव तेज नेपाली लगायतको टोली प्रशासन कार्यालय पुगेको थियो ।

रुकुम हत्याकाण्डको दोषीलाई कारबाहीको माग सहित अनेरास्ववियू काभ्रेले बुझायो ज्ञापनपत्र।

रुकुम हत्याकाण्डको दोषीलाई कारबाहीको माग सहित अनेरास्ववियू काभ्रेले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । उक्त कार्यक्रममा अनेरास्ववियुको तर्फबाट केन्द्रिय नेताहरु जेनिस लामा, शालिकराम पराजुली, हरिशचन्द्र घिमिरे, जिल्ला अध्यक्ष उपेन्द्र शर्मा, जिल्ला कमिटी सदस्यहरु मुकुन्द लामिछाने, सुमन जैरु, मिलन गौतम लगायतका नेताहरु सहभागि थिए । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले समाजमा यस्ता घटना हुन नदिन राज्यका तर्फबाट पहल गरिने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ ।

प्रकाशित मिति: १५ जेठ २०७७, बिहीवार १९:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु