२५ असोज २०८१, शुक्रवार

पहिराले ज्यान गुमाएका परिवारलाई राहत

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकाका विभिन्न ठाउँमा पहिराले पुरिएर सोमबार निधन भएका तीन जना व्यक्तिका परिवारलाई सङ्घ र प्रदेश सरकारका तर्फबाट आज राहत वितरण गरिएको छ ।

पहिराले पुरिएर निधन भएका म्याग्दे गाउँपालिका–६ बेलौतेकी १५ वर्षीया लक्ष्मी विक, व्यास नगरपालिका–९ मोहरियाका ७० वर्षीय सुकुमाया घर्ती र व्यास नगरपालिका–११ ओडारेका पद्म चेपाङका परिवारलाई जनही रु एक लाख ५० हजारका दरले राहत वितरण गरिएको छ । पीडितका परिवारलाई जिल्ला प्रशासन कार्यालय तनहुँमार्फत रु एक लाख र प्रदेश सरकारबाट तर्फबाट रु ५० हजार उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए ।

पीडितहरुको घरमा नै पुगेर आज गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले उक्त राहत रकम परिवारलाई हस्तान्तरण गरे । म्याग्देमा १५ वर्षीया बालिकाकी आमा सनसरी विकलाई राहत रकम हस्तान्तरण गर्दै मन्त्री चुमानले कोरोनाको प्रकोप सँगसँगै गण्डकी प्रदेश बाढीपहिरोबाट पनि मारमा परेको उल्लेख गरे ।

“स्थानीय सरकारसँग समन्वय गरेर विस्थापित परिवारको पुनस्र्थापनामा सघाउँछौँ,” उनले भने, “सरकार जनताको अभिभावक भएकाले हरेक दुःखमा सरकार साथ रहेको छ ।” गण्डकी प्रदेशमा बाढीपहिराबाट तनहुँसहित म्याग्दी, कास्की, लमजुङ र स्याङ्जामा पनि ठूलो जनधनको क्षति भएको मन्त्री चुमानले जानकारी दिए ।

गण्डकी प्रदेश सांसद आशा कोइरालाले विपद्को योजनाबिना गरिने कामका कारण मानिसले प्रकोपबाट क्षति बेहोर्नुपरेको उल्लेख गर्दै विपद्को पूर्वतयारी आवश्यक रहेकोमा जोड दिए । म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले बाढीपहिराबाट गाउँपालिकाका ६१ परिवार विस्थापित भएको जानकारी दिनुभयो । गाउँपालिकाले पीडित परिवारलाई रु ५० हजार प्रदान गरिसकेको छ ।

यस्तै व्यास नगरपालिका–९ मोहरियामा मृतक घर्तीका श्रीमान् मनबहादुर घर्ती र व्यास नगरपालिका–११ ओडारेका मृतक चेपाङका श्रीमती फूलमाया चेपाङलाई मन्त्री चुमानले राहत रकम प्रदान गरे ।

मङ्गलबार मात्रै ऋषिङ गाउँपालिका–८ भैसिकिलेमा पहिरामा पुरिएर निधन भएका एकै परिवारका पाँच जनाका आफन्तलाई सङ्घीय सरकारको तर्फबाट जिल्ला प्रशासन कार्यालयले रु पाँच लाख रकम प्रदान गरेको थियो ।

प्रकाशित मिति: ३१ असार २०७७, बुधवार २२:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु