२ माघ २०८१, बुधवार

तीन बालिकाको संरक्षकत्व ग्रहण

काठमाडौँ. । प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाको सेवा नै समाज र राष्ट्रको पनि सेवा भएको बताउनुभएको छ । उहाँले नेपालको संविधान बालबालिकाको हितमा रहेको र सोहीअनुसार सरकारले काम गरिरहेको चर्चा गर्नुहुँदै बालबालिका भविष्यका कर्णधार मात्र होइन वर्तमानको हकदार भएको बताउनुभयो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान आयोजित अभिभावक गुमाएका तीन बालिकाको संरक्षकत्व प्रदान कार्यक्रममा उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री ओलीले अभिभावकविहीन भएर बालबालिकाले सडकमा बस्नुपर्ने दिनको अन्त्य गर्न सरकारले हर तरहले प्रयत्न गरिरहेको स्पष्ट पार्नुुभयो । उहाँले भन्नुभयो, “घरवार र अभिभावकविहीन भएर सडकमा मागेर अब खानुपर्दैन । सडकमा रात बिताउनु पर्ने, मागेर खानुपर्ने दिनको अन्त्य गरिने छ ।” बालबालिकालाई राज्य, समाज र परिवारले उचित अवसर दिएमा देशको भविष्य चम्काउने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो । समाज र राष्ट्रका लागि राम्रो काम गर्दा खुट्टा तान्ने, असहयोग गर्ने, बाधा हाल्ने काम हुन्छ तर त्यसबाट हतोत्साही नभई सेवाका कार्यमा निरन्तर लाग्नुपर्ने बताउनुहुँदै उहाँले भन्नुभयो, “समाजसेवाबाट सन्तुष्टि प्राप्त हुन्छ । त्यसैले यो त्यति सजिलो पनि छैन । धेरै बिध्नबाधा खेप्नुपर्छ ।”
त्यस अवसरमा प्रधानमन्त्री पत्नी श्रीमती राधिका शाक्यले अभिभावकविहीन तीन जना बालिकाको संरक्षकत्व लिनुभएको थियो । घरायसी झगडामा आमाको मत्यु र बुबा जेल परेपछि अभिभावकविहीन भएका दक्षिणकालीका तीन बालिकाका बारेमा सञ्चार माध्यमबाट जानकारी प्राप्त भएपछि श्रीमती शाक्यले उद्धारको पहल गर्नुभएको थियो । बन्दाबन्दीका कारण करिब चार महिना खोजतलास केन्द्रको संरक्षण गहमा रहेका थिए । तीन बालिकालाई आइतबारै एसओएस बालग्राममा रहने गरी पठाइएको छ ।
सोही अवसरमा शाक्यले गोरखापत्र दैनिकमा आइतबार प्रकाशित ‘अभिभावक नहुँदा बिचल्ली’ समाचारप्रति आफ्नो गम्भीर ध्यान गएको बताउनुभयो । सो समाचार पढेपछि मन विचलित भएकाले डोटी जिल्लाका सांसदलाई फोन गरेर अभिभावक गुमाउनुुभएका ती तीन बालबालिकाको शिक्षा, स्वास्थ्य र बसोबासको व्यवस्थाका लागि पहल थालेको शाक्यले जानकारी दिनुभयो ।
दक्षिणकालीका तीन बालिकाको उद्धारमा संलग्न बाग्मती प्रदेश सभा सदस्य दीपक निरौलाले एसओएस बालग्रामको निरीक्षणपछि अभिभावकविहीन ती बालिकालाई सोही ठाउँमा पठाउने पहल थालिएको जानकारी दिनुभयो । कार्यक्रममा एसओएस बालग्रामका राष्ट्रिय निर्देशक ईश्वरीप्रसाद शर्मा, राष्ट्रिय बालअधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेललगायतको उपस्थिति थियो । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।

प्रकाशित मिति: २६ साउन २०७७, सोमवार ११:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु