६ फागुन २०८१, मंगलवार

धनगढीका तीन सय घर डुवानमा

गोदावरी (कैलाली) । दुई दिनदेखि लगातारको वर्षाका कारण धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र डुवानमा परेका छन् । धनगढीको बजार क्षेत्र क्याम्पस रोड, शिवनगर, एलएनचोक, पार्कचोक, बिशालनगर, मिलनचोक, चौराहा, उत्तरबेहडी, चटकपुर लगायतका अधिकांश भूभागमा डुवान भएको हो ।
बिशालनगरमा झण्डै आधा दर्जन परिवार विस्थापित भएको स्थानीय टेकराज जोशीले बताउनुभयो । उहाँले घरमा पानी पसेपछि छिमेकी र आफन्तको घरमा बस्नुपरेको बताउनुभयो । सबैभन्दा बढि धनगढीको बजार क्षेत्र र वरपर रहेका वडामा डुवान भएको छ ।
धनगढी उपमहानगरपालिक वडा नम्बर–३ का अध्यक्ष बलवहादुर ऐरले पानी निकास नहुँदा समस्या भएको बताउनुभयो । उहाँले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को बिशालनगर, चटकपुर, बोराडाँडी लगायतका क्षेत्रमा डुबान भएको जानकारी दिंदै क्षतीको लागत लिइरहेको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले बाढी बस्तीमा पसेपछि झण्डै तीन सय घरमा पानी पसेको बताउदै भन्नुभयो–‘पानी पसेपछि ५५ घरमा क्षति पुगेको छ । बाँकी क्षतिको बिबरण आएको छैन् ।’
धनगढी उप–महानगरपालिका र नगर विकास समितिकै संलग्नतामा खोलानाला अतिक्रमणको चपेटामा परेपछि धनगढीमा डुबानको समस्या बढ्दै गएको छ । पानी बग्ने नाला र कुलोमा सरकारी तथा नीजि भवन, सडक जस्ता संरचना खडा भएका छन् । धनगढीमा सडको पानी निकासकालागि बनाईएका नालीसमेत काम नलाग्ने भएका छन् ।

प्रकाशित मिति: २६ साउन २०७७, सोमवार १३:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु