काभ्रेमा ९२ वर्षका वृद्ध र ३ प्रहरीमा कोरोना संक्रमण पुष्टि

काभ्रे । काभ्रेमा आज थप ३ प्रहरी र एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।
संघीय प्रहरी कार्यालय काभ्रेमा कार्यरत ३ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो । यस अघि संघीय प्रहरीका १० जना र जिल्ला प्रहरी काभ्रेका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै जिल्लामा संक्रमित प्रहरीको संख्या १४ पुगेको छ ।
यस्तै, धुलिखेल नगरपालिका ७ घर भइ हाल काठमाडौँको बानेश्वरमा बस्दै आएका ९२ वर्षका वृद्धमा समेत कोरोना पुष्टि भएको छ । ती वृद्धको आज जन्मिदिन परेकाले हिजो काठमाडौबाट धुलिखेल आएका थिए । धुलिखेलस्थित आफ्नो घर पुगेसँगै स्वास्थ्यमा समस्या देखिएपछि वृद्धलाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको थियो ।
हालसम्म जिल्लामा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ भने एक महिलाको मृत्यु भइसकेको छ ।
प्रकाशित मिति: २७ साउन २०७७, मंगलवार २०:०४ बजे