१२ वैशाख २०८३, शुक्रवार

एकता जोगाउन नेतृत्व सक्षम

चरीकोट  । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता जोगाउन पार्टी नेतृत्व सफल हुने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपाल सरकारका प्रवक्ता गुरुङले मुलुक र जनताको सुन्दर भ(िवष्यका लागि दृढविश्वाससाथ पार्टी एकता भएको स्मरण गर्नुहुँदै भन्नुभयो, “नेपालको कम्युनिस्ट आन्दोलनमा देखिएका टुटफुटका कारण मुलुक र जनताले धेरै अप्ठ्यारो अवस्था झेल्नु प¥यो । त्यही कम्युनिस्ट आन्दोलनका अनेकन आरोह अवरोह झेलेर आउनुभएका पार्टी नेतृत्व समस्या सुल्झाउन सक्षम हुनुहुनेछ ।” उहाँले पार्टीको सुदृढ एकता, मुलुकको समृद्धि, राजनीतिक स्थिरता र निकासका लागि जस्तोसुकै त्याग र योगदान गर्न आफूहरू तयार रहेको चर्चा गर्नुभयो ।
नेकपा दोलखा जिल्ला कमिटीद्वारा शनिबार चरीकोटमा आयोजित श्रद्धाञ्जलि सभामा उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो । नेकपा जिल्ला कमिटी सदस्य एवं शैलुङ गाउँपालिका–७ का वडा अध्यक्ष प्रेम लामाको केही दिनअघि कोरोनाका कारण निधन भएको थियो । स्व. लामाप्रति श्रद्धाञ्जलि एवं परिवारजनमा समवेदना व्यक्त गर्नुहुँदै उहाँले दोलखा जिल्लाको कम्युनिस्ट एवं सामाजिक आन्दोलनमा लामाले पु¥याउनुभएको योगदानको चर्चा गर्नुभयो ।
मन्त्री गुरुङले दोलखा जिल्लाको समृद्धिका लागि आपूm क्रियाशील रहेको बताउनुभयो । आपूm दोलखालाई समृद्ध बनाउने योजनाको खोजीमा रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “दोलखामा समृद्धि ल्याउने राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोसी जलविद्युत् आयोजना छिटै सम्पन्न गर्न घच्घच्याउँदै छु ।” भीमेश्वर नगरपालिकाको चरीकोट टुँडिखेलमा प्रदेशस्तरीय रङ्गशालाको उहाँले शिलान्यास गर्नुभयो ।
यस्तै गौरीशङ्कर गाउँपालिका–५ स्थित दिव्यश्वरी आधारभूत विद्यालयको चारकोठे भवनको शिलान्यास पनि मन्त्री गुरुङले गर्नुभयो । सो अवसरमा उहाँले तामाकोसी जलविद्युत् आयोजना चालू आर्थिक वर्षमा नै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले दोलखा जिल्लामा द्रुत गतिको इन्टरनेट सेवालाई वडास्तरसम्म पु¥याइने प्रतिबद्धतासमेत जनाउनुभयो । दोलखाकै भीमेश्वर नगरपालिका–८ को ओरियन्ट म्याग्नेसाइट उद्योग पुनः सञ्चालनमा ल्याउन पहल भइरहेको जानकारी दिँदै उहाँले यसलाई छिट्टै सञ्चालनमा ल्याउने प्रयास भइरहेको बताउनुभयो । लामो समयदेखि विवादमा रहेको लामाबगर–लप्ची सुरुङ मार्ग निर्माणका लागि आगामी माघ महिनाभित्रै बोलपत्र आह्वान हुन लागेको जानकारी दिँदै उहाँले दोलखा समृद्ध बनाउने अन्य स्रोतसाधनको खोजी भइरहेको बताउनुभयो ।
भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले आफ्नो कार्यकालमा नगर समृद्धितर्फ उन्मुख गराउने प्रतिबद्धता जनाउँदै ११ करोड १४ लाख रुपियाँको लागतमा यो वर्ष भीमेश्वर रङ्गशालाको प्यारापिट निर्माण थालिएको बताउनुभयो । दुई वर्षमा सम्पन्न गर्ने उद्देश्यका साथ निर्माण थालिएको रङ्गशाला परिसरमा भूमिगत पार्किङ पनि निर्माण हुने छ ।
दुई हजार पाँच सय दर्शक क्षमताको यो रङ्गशाला निर्माण सम्पन्न गर्न ठूलो धनराशि लाग्ने भएकाले दोस्रो चरणमा सम्पन्न हुने जानकारी दिँदै उहाँले बजेटका लागि सङ्घ तथा प्रदेश सरकारसँग आग्रह गरिएको बताउनुभयो । मन्त्री गुरुङ तामाकोसी हाइड्रोपावरको आइतबार हुने सार्वजनिक सुनुवाइमा सहभागी हुनुहुने र सोमबार दोलखा जिल्लाका जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको मन्त्रीका प्रेस संयोजक सन्तोष खड्काले जानकारी दिनुभयो ।यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ।

प्रकाशित मिति: ५ पुस २०७७, आइतवार ०८:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु