२० वैशाख २०८३, शनिवार

कोरोना महामारी नियन्त्रणमा स्थानीय तहले गरेको काम प्रसंशनीयः प्रधानमन्त्री केपी ओली

नेपाल नगरपालिका संघको २८औँ वार्षिकोत्सव

काठमाडौं । नेपाल नगरपालिका संघले आफ्नो २८औँ वार्षिकोत्सव सम्पन्न गरेको छ। काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी संघले आफ्नो स्थापनाको २८ वर्ष मनाएको हो । उक्त कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहलाई कुल बजेटको ७० प्रतिशत बजेट माग गर्नु उपयुक्त नहुने बताउनुभयो ।

कार्यक्रमलाई शुभकामना दिदै प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय सरकारले कोरोनाको बेला गरेको कार्यको खुलेर प्रशंसा गर्नुभएको । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘म मुक्तकण्ठबाट प्रशंसा गर्न चाहान्छु। कोरोनाको महामारीका बेला स्थानीय सरकारले गरेको काम प्रशंसा गर्न योग्य छ।’

केन्द्र सरकारले आफूलाई अधिकार नदिएको भन्ने स्थानीय सरकारको आरोपलाई खण्डन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अधिकार तपाईँलाई नदिएर मैले किन राख्ने हो त ? मैले गोजिमा हाले ब्याज पनि आउँदैन, टेबुलमा राखे फूल झै बास्ना पनि दिँदैन।’

सुखी नेपाली र समृद्ध नेपालको नारा सार्थक बनाउनमा पनि स्थानीय सरकारको महत्वपूर्ण भूमिका रहने प्रधानमन्त्री ओलीको भनाइ थियो। उहाँले भन्नुभयो, ‘आर्थिक विकासमात्र समृद्धिको उदाहरण हैन। देशको जीडीपी बढ्नुले मात्र समृद्धिको यात्रा तय गरेको हुँदैन। समृद्धी त हरेक स्थानीय तहका हरेकको घरको चुलोमा आगो बल्नु हो। सबै समान अवसर पाएर अगाडि बढ्नु हो।’
आफूहरुको प्रयासले सामाजिक क्षेत्रमा नेपाल विकसित देशभन्दा पनि माथि पुगेको प्रधानमन्त्री ओलीले दावी गर्नुभयो । नेपालको संसदमा ३३ प्रतिशत र कुल जनप्रतिनिधिमध्ये ४१ प्रतिशत महिला रहेको भन्दै उहाँले यसलाई ५० प्रतिशत पुर्‍याउने दावी गर्नुभयो ।

मेलम्चीको पानी चैत १५ देखि काठमाडौंमा वितरण सुरु हुने र दुइ वर्षभित्रै थानकोट नौबिसे सुरुङ निर्माण पूरा गर्ने पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।

नगरपालिका संघले विभिन्न चरणमा नगरपालिकाहरुसँग सम्झौता गरेको छ। संघले आफ्नो स्थापनाको २८ अवसरमा तेस्रो चरणको एमओयू सम्झौता अन्तर्गत वागमती प्रदेशका सबै ३८ वटा नगरपालिकासँग सम्झौता गरेको हो ।

संघले आफ्नो स्थापनाको २८ अवसरमा उत्कृष्ट काम गर्ने ३ वटा नगरपालिकालाई पुरस्कृत पनि गरिएको छ। पुरस्कृत हुने नगरपालिकाहरुमा बुटवलको तिलोतमा नगरपालिका, झापाको कनकाई नगरपालिका र स्याङ्जाको वालिङ नगरपालिका रहेका छन्।
नेपाल नगरपालिका संघले आफ्नो २८औँ वार्षिकोत्सव संघका अध्यक्ष तथा धुलिखेल नगरपालिकाको प्रमुख अशोक व्याञ्जुको अध्यक्षतामा सम्पन्न भएको छ ।

नगरपालिकाको तर्फबाट आफ्नो धारणा राख्ने वक्ताहरुले संघीयताको जग स्थानीय तह भए पनि सबै अधिकारहरु प्रयोग गर्न नपाएको गुनासो गरेका थिए। उनीहरुले संविधानले दिएका २२ वटा अधिकार मध्ये धेरै अधिकार प्रयोग गर्न नपाएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित मिति: ११ चैत २०७७, बुधवार १९:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु