२० वैशाख २०८२, शुक्रवार

पार्टी एकताको पक्षमा अपिल ,पार्टीले कसैलाई पक्षपात गर्दैन :अध्यक्ष ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको पक्षमा उभिन आह्वान गर्दै आफूले कसैलाई पनि काखा पाखा नगर्ने बताएका छन् ।

ओलीले आइतवार प्रेस वक्तव्य जारी गर्दै मजबुत पार्टी बनाउने महाअभियानमा सरिक हुन आह्वान गरेका छन् । उनले कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ,अहंकार,असन्तुष्टि र इश्र्या रहेको भन्दै पार्टीलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम र त्यसको शिकार बनाउन नहुने बताएका छन् ।

वक्तव्यमा भनिएको छ– आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोसक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी÷गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारीछाड्नेजस्ता हानिकारक प्रयास भएका छन् ।
ओलीले कुनै पनि तहमा पार्टीका सरकारलाई ढालिछाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउनेजस्ता घातक र दुःखद् प्रवृत्तिहरु पनि देखा परेको बताएका छन् । उनले यस्ता क्रियाकलाप गर्नेलाई इतिहासले माफ नगर्ने भन्दै त्यस्ता कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुने आग्रह गरेका छन् ।

प्रेस वक्तव्य
राणा शासनको अन्धकार युगमा सुन्दर भविश्य र संकल्पका साथ स्थापित, संगिठत र सक्रिय भई अघि बढेको बामपन्थी आन्दोलन धेरै शहीदको बलिदान, धेरै अग्रजका मार्गदर्शन र योगदानबाट आज यस ठाउँमा आइपुगेको छ । राष्ट्रिय राजनीतिको मूल प्रवृत्ति र प्रवाह बनेको छ । जनताको आशा भरोसा र विश्वासको केन्द्र यो पार्टी- नेकपा(एमाले)लाई अझ सुदृढ र एकतावद्ध बनाउँदै अगाडि बढाउनु पर्ने प्रमुख दायित्व आजको पुस्ताको हो।

कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इर्श्या छन् । यस आन्दोलनलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम वा त्यसको शिकार बनाउनु हुदैन । आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोसक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारीछाड्नेजस्ता हानिकारक प्रयास भएका छन् । कुनै पनि तहमा
पार्टीका सरकारलाई ढालिछाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउनेजस्ता घातक र दुःखद् प्रवृत्तिहरु पनि आज देखा परेका छन् । यी प्रवृत्ति कुनै पनि हिसावले उपयुक्त होइनन् र यी हानिकारक छन् ।

के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ? सोचौं, भोलि हामी जनतालाई के जवाफ दिन्छौं ? तसर्थ, यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसावले संलग्न नहुन म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछ । यो पार्टी हामीले बनाएको हाम्रो पार्टी हो । यस पार्टीका इमान्दार नेता
कार्यकर्ता पार्टीलाई हानी पुग्ने र आन्दोलनलाई क्षति पुयाउने कुनै पनि
क्रियाकलापमा संलग्न हुँदैनन् भन्नेमा म विश्वस्त छ ।
भ्रम फैलाइएजस्तो र हल्ला चलाइएजस्तो पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात गर्दैन । म यो कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छ । तसर्थ पार्टीलाई मजबूत पार्दै अघि बढ्ने महान कार्यमा सरिक हुन म सबैमा आग्रह गर्दछ ।

प्रकाशित मिति: २६ वैशाख २०७८, आइतवार १९:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु