उपत्यकामा निषेधाज्ञा जेठ ३१ गतेसम्म थप, किराना र पुस्तक पसल खोल्न पाइने

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गर्ने निर्णय गरेको छ । निषेधाज्ञाको अवधि जेठ ३१ गतेसम्म थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
यसै गरि बैठकले किराना पसल, डिपार्टमेन्टल स्टोर र स्टेशनरी, किताव पसल बिहान ९ बजेसम्म खोल्न दिने निर्णय गरेको छ । तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान ९ सम्म मात्र खोल्न दिइएको छ ।
निजी तथा सार्वजनिक निर्माणको काम पनि चलाउन दिने तर काम गर्दा काम गर्ने मानिस भित्रै बस्नुपर्ने उहाँले जानकारी दिनुभयो ।
पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि यही जेठ २० गते राती १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो ।
प्रकाशित मिति: १९ जेठ २०७८, बुधवार १५:३२ बजे