धुलिखेल नगरपालिकाको नबौं अधिबेशन सम्पन्न , सामुदायिक बिद्यालयमा छोराछोरी पढाए १०% कर छुट पाउने
धुलिखेल नगर बन्द हड्ताल मुक्त शहर घोषणा
धुलिखेल । धुलिखेल नगरपालिकाले नगर सभाको नवौं अधिबेशन बजेट, नीति तथा कार्यक्रम, विधेयक र विशेष प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । धुलिखेल नगरपालिकाले नवौं अधिबेशन तथा नगर सभाले धुलिखेलका अभिभावकले सामुदायिक बिद्यालयमा छोराछोरी पढाए १० प्रतिशत कर छुट दिने निर्णय गरेको छ । नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममै यस्तो ब्यवस्था गरेको हो ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा आफ्नो बजेटको राम्रै अनुपात खर्च गर्दै आएको नगरपालिकाले अभिभावकलाई थप सुविधा दिने निर्णय गरेको हो ।

धुलिखेल नगरपालिकाले यस अघि स्नातक तहमा नगरबासीलाई नि:शुल्क बढाउन दुई वटा कलेजसँग सम्झौता गरिसकेको छ । त्यस्तै धुलिखेल नगरपालिका बाहिरकालाई ५० प्रतिशत कुल पठाई खर्च बेहोर्ने निर्णय गरिसकेको छ ।
धुलिखेल नगरपालिकाको असार ७ गते शुरु भएको अधिबेशनका तीनवटा बैठक आयोजना गरिएको नगर प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो । अधिबेशनमा प्रस्तुत नगरपालिकाका नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेट सर्वसम्वत पारित भएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । प्रस्तुत भएका विधेयकहरुमा पनि सभाका सदस्यहरुले धारणा राखेका थिए ।

अधिबेशनको तेश्रो बैठकमा सदस्यहरुले शुन्य समय उपलब्ध गराईएको थियो । शुन्य समयमा आनन्द सागर यगोल श्रेष्ठ, गणेश आचार्य, मन्दिप गौतम र हिरा तामाङले नगरपालिकाले गरिरहेका गतिविधिहरु मार्फत नागरिक लाभान्वित भएको बताउनु भयो । अधिबेशनको तेश्रो बैठकले धुलिखेल नगरपालिकाको सार्वजनिक निजी साझेदारी (योजना संचालन तथा ब्यवस्थापन) विधेयक २०७८, नगरपालिकाको सूचना तथा अभिलेख केन्द्र (स्थापना र संचालन) विधेयक २०७८, धुलिखेल नगरपालिकाको आन्तरिक कार्यप्रणाली (ब्यवस्थापन र नियन्त्रण) विधेयक २०७८ र धुलिखेल नगरपालिकाको सरसफाई तथा फोहोरमैला ब्यवस्थापन विधेयक २०७८ सर्वसम्वतीले पास गरेको छ । नगरपालिकाले चार वर्षको अवधीमा ७० वटा भन्दा धेरै विधेयक, कार्यविधि र कानुन निर्माण गरिसकेको प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेलले बताउनु भयो ।

त्यस्तै शुन्य समयमा उठेका विषयमा नगर प्रमुख अशोक ब्याञ्जुले जवाफ दिनु भएको थियो । चार वर्षमा भएका काम सन्तोषजनक रहेको र आगामी वर्ष विनियोजन भएका योजनाहरु समयमै कार्यान्वयन गरिसक्ने बताउनु भयो । एक घर एक धाराको कार्य अन्तिम चरणमा पुगेको बताउँदै नगर प्रमुख ब्याञ्जुले समाजबाद उन्मुख विकासका कार्यहरु शुरु गरेको बताउनु भयो । शिक्षाको स्नातक तहसम्म निशुल्क, नागरिकहरुलाई घर दैलो सेवा तथा दुखसुखममा नगरपालिका अभिभावक बनिरहेको बताउँदै महत्वकाँक्षी केहि योजनाहरु आगामी वर्ष शुरु हुने बताउनु भयो ।

स्वास्थ्य विमा, निशुल्क डाईलोसिस सेवा तथा स्वस्थ शहर निर्माण, प्रविधि सहितको सेवामा नगरपालिकाले नागरिकहरुको आयआर्जनमा ध्यान दिएको उहाँले बताउनु भयो । अधिबेशनमा नगर उपप्रमुख विमला शर्माले महिला तथा विपन्न नागरिकहरुका लागि नगरपालिकाले सहजिकरण गर्दै सेवा उपलब्ध गराएको बताउनु भयो । नगर सभाको अधिबेशनले विशेष १२ वटा प्रस्ताव पास गरेको छ ।

प्रकाशित मिति: १४ असार २०७८, सोमवार २१:०९ बजे











