६ चैत २०८१, बुधवार

धुलिखेल नगर बन्द हड्ताल मुक्त शहर घोषणा

धुलिखेल । धुलिखेल नगरपालिकाले नगर सभाको नवौं अधिबेशनले नगरलाई बन्द हड्ताल मुक्त शहर बनाउने घोषणा गरेको छ । धुलिखेल नगरपालिकाले नवौं अधिबेशन बजेट, नीति तथा कार्यक्रम, विधेयक र विशेष प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । असार ७ गते शुरु भएको अधिबेशनले धुलिखेल नगरपालिका अब बन्द हड्ताल मुक्त शहर बनाउने निर्णय लगायत विभिन्न निर्णयहरु गरेको छ । अधिबेशनमा प्रस्तुत नगरपालिकाका नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेट सर्वसम्वत पारित भएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । प्रस्तुत भएका विधेयकहरुमा पनि सभाका सदस्यहरुले धारणा राखेका थिए ।

धुलिखेल नगरपालिकाको नवौं अधिबेशनको तेश्रो बैठकले धुलिखेल नगरपालिकाको सार्वजनिक निजी साझेदारी (योजना संचालन तथा ब्यवस्थापन) विधेयक २०७८, नगरपालिकाको सूचना तथा अभिलेख केन्द्र (स्थापना र संचालन) विधेयक २०७८, धुलिखेल नगरपालिकाको आन्तरिक कार्यप्रणाली (ब्यवस्थापन र नियन्त्रण) विधेयक २०७८ र धुलिखेल नगरपालिकाको सरसफाई तथा फोहोरमैला ब्यवस्थापन विधेयक २०७८ सर्वसम्वतीले पास गरेको छ । नगरपालिकाले चार वर्षको अवधीमा ७० वटा भन्दा धेरै विधेयक, कार्यविधि र कानुन निर्माण गरिसकेको छ ।
एक घर एक धाराको कार्य अन्तिम चरणमा पुगेको बताउँदै नगर प्रमुख अशोक ब्याञ्जुले समाजबाद उन्मुख विकासका कार्यहरु शुरु गरेको बताउनु भयो । शिक्षाको स्नातक तहसम्म निशुल्क, नागरिकहरुलाई घर दैलो सेवा तथा दुखसुखममा नगरपालिका अभिभावक बनिरहेको बताउँदै महत्वकाँक्षी केहि योजनाहरु आगामी वर्ष शुरु हुने बताउनु भयो । स्वास्थ्य विमा, निशुल्क डाईलोसिस सेवा तथा स्वस्थ शहर निर्माण, प्रविधि सहितको सेवामा नगरपालिकाले नागरिकहरुको आयआर्जनमा ध्यान दिएको उहाँले बताउनु भयो ।

प्रकाशित मिति: १४ असार २०७८, सोमवार २१:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु