एमालेले कारबाही गरेका सांसद संसदमा रहुञ्जेल संसद् चल्दैन : वरिष्ठ उपाध्यक्ष पोखरेल
काभ्रे । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमसिसिका बारेमा सरकारले गर्ने निर्णयका आधारमा एमालेले निर्णय गर्ने बताउनु भएको छ । एमालेले कारबाही गरेका सांसदहरु संसदमा रहुञ्जेल संसद् नचल्ने उहाँले बताउनु भएको छ ।
‘सरकारले के गर्छ ? गठवन्धनधारीहरुले के गर्छन् ? सरकार कसरी प्रस्तुत हुन्छ ? सरकारले श्वेत पत्र जारी गर्दा किन नबोलेको ? नीति तथा कार्यक्रम ल्याउँदा किन नबोलेको ? कारण के हो ?
एमसिसिका बारेमा हामीलाई होइन गठवन्धनधारीहरुलाई सोध्ने हो’– वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो–‘सरकार कुन हिसावले प्रस्तुत हुन्छ त्यसपछि मात्रै धारणा बनाउँछौँ सत्ता साझेदार संग १६५ सांसद छन् । गरे भयो नि ।
संसदमा ल्याए भयो नि । किन ल्याउँदैनन् त्यसपछि मात्रै एमालेको धारणा बन्छ । संसदमा दर्ता भएको बिजनेसका बारेमा सरकार के गर्छ र सभामुख के भन्छन् ? प्रधानमन्त्री के भन्छन् र गठबन्धन के भन्छ ?’
अनेरास्ववियु केन्द्रीय कमिटीको महिला विभागले आयोजना गरेको नेतृत्व विकास तथा सशक्तीकरण विषयक तीन दिने आवासीय प्रशिक्षणको समापन गर्दै बनेपामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धनलाई अगुवाइ गर्ने नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्रीले एमसिसिका बारेमा जवाफ दिनु पर्ने बताउनुभयो ।
निरन्तर अवरुद्ध गरेको संसद् अवरुद्ध हुन नदिन एमालेले कारबाही गरेका सासंदहरुलाई हटाएको सूचना सभामुखले टाँस गर्नु पर्ने बताउनु भयो । ‘संसद् नभएका ब्यक्ति सांसद भएर बसिरहेका छन् । सभामुख के भन्छन् र सभामुख पुष्पकमल दाहालको कार्यकर्ता भएर चल्न चाहन्छन् कि ? सभामुख हुन खोज्छन् ?’–वरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो–‘सभामुख निष्पक्ष हुनु पर्छ । त्यसो नहुँदासम्म संसद् चल्न एमालेले दिँदैन ।’
प्रशिक्षणको उद्घाटन नेकपा एमालेको उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गर्नु भएको थियो भने तीन दिने प्रशिक्षणमा विभिन्न विषयमा पोलिटब्युरो सदस्य गोकुल बास्कोटा, भानुझक्त ढकाल, डा. बिन्दा पाण्डे, माधव ढुंगेल,सुनिता बराल, नेकपा एमाले पार्टी जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, विद्यार्थी नेताहरू , आरसी लामिछाने समिक बडाल, जेनिस लामा, अभिबत्ता बाबुराम दाहाल लगायतले प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा देशभरबाट अनेरास्ववियुका महिला नेताहरू सहभागी भएका थिए ।







प्रकाशित मिति: ४ पुस २०७८, आइतवार २०:२० बजे











