धुलिखेलमा नेवारि परम्परा सहितको सास्कृतिक कार्यक्रम र ‘योमरी फेष्टिबल’
काभ्रे । धुलिखेल नगरपालिकाको लशकुश युवा क्लबले योमरी पूर्णिमाको अवसरमा योमरी फेस्टिभल सहित सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले कला, संस्कृति र सम्पदा संरक्षणमा नयाँ पुस्ताको सक्रियता प्रशंसनीय रहेको बताउनु भयो ।
नेवारी समुदायमा योमरी पूर्णिमा विशेष महत्त्वका साथ मनाउने गरिएको छ । पहिले पहिले विवाह गरेर घर गएकी छोरी गर्भवती भएको अवस्थामा १ सय ८ वटा योमरी खुवाउने चलन थियो भने १ वर्षदेखि १२ वर्षसम्मका बालबालिकाहरूको जन्म दिनको दिन योमरीको माला बनाएर लगाई दिने चलन थियो ।
जाडो याममा चामलको पिठोमा चाकु, खुवा लगायतका सामग्रीहरू राखेर बनाउने योमरी खाँदा शरिरमा लाग्ने चिसो कम हुने विश्वास छ । नगर प्रमुख ब्याञ्जुले अमूल्य संस्कृति र परम्परा जोगाउन नयाँ पुस्ताको सक्रियतामा स्थानीय सरकार अभिभावक बन्ने बताउनुभयो । पूर्णिमाको दिन बनाउने गरेको योमरी भोलिपल्ट आफ्नी प्रेमिकालाई खुवाउँदा माया पिरती गाढा हुने विश्वास थियो ।
लशकुश युवा क्लबका अध्यक्ष कर्म सागर वर्ण श्रेष्ठले नेवारी समुदायले मनाउने नेपाल सम्वत पछिको दोस्रो महिनाको ठुलो पर्व योमरी रहेकाले यसलाई चाडका रूपमा मनाउन फेस्टिभल तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको बताउनु भयो । फेस्टिभलमा योमरी सहित नेवारी परिकारका विभिन्न स्टलहरू राखिएका थिए ।
सांस्कृतिक कार्यक्रममा नेवारी संस्कृति झल्कने नृत्य, धिमे बाजा, चित्र लेखन लगायतका कार्यहरू गरिएको संस्थापक ओम श्रेष्ठले बताउनु भयो । कार्यक्रममा वडाध्यक्षहरु वसन्त रानाभाट, विष्णु धिताल, पत्रकार महासंघ काभ्रेका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, क्लबका संस्थापक ओम श्रेष्ठ लगायतले योमरी पूर्णिमाको महत्त्व र आवश्यकताका बारेमा मन्तव्य राख्नु भएको थियो । धुलिखेलको नारायणस्थान मन्दिर परिसरमा आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न स्थानबाट दर्शकहरूको सहभागिता रहेको थियो ।






प्रकाशित मिति: ४ पुस २०७८, आइतवार २०:५७ बजे











