एमालेको विरोधपत्र बुझ्दै काठमाडौंका सीडीओले भने– राजनीतिक विषयमा प्रवेश गर्दैनौं
काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले विरोध पत्र बुझाउन आएका एमालेका नेता–कार्यकर्ताहरुलाई राजनीतिक विषयमा आफूहरु प्रवेश नगर्ने जवाफ दिएका छन् ।
उनले प्रदर्शनको क्रममा केही हिंसात्मक घटना भएको भन्दै त्यसमा संलग्नलाई कानुन अनुसार कारबाही अघि बढाउने पनि बताए ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै एमालेले आज देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई विरोध पत्र बुझाउने कार्यक्रम तय गरेको थियो । सोही कार्यक्रम अनुसार एमालेका नेता रामेश्वर फुयालसहितका नेताहरु आज जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका थिए ।
उनीहरुसँग प्रजिअ पौडेलले आफूहरु राजनीतिक विषयमा प्रवेश नगर्ने बताए । ‘राजनीतिक विषयमा हामी बिल्कुलै प्रवेश गर्दैनौं । हाम्रो न्युट्रालिटीले गर्दा, त्यसपछि हाम्रो प्रोफेस्नालिजम जुन छ, त्यसअनुसार हामी अगाडि बढ्छौं,’ उनले भने ।
प्रकाशित मिति: १६ चैत २०८२, आइतवार १५:५१ बजे










