२३ मंसिर २०८१, आइतवार

जलपानमा सेल, जेरी, तरकारी

बनेपा/नेकपा काभ्रेले एकता पछि पहिलो पटक आयोजना गरेको जलपान कार्यक्रममा नेता तथा कार्यकर्ताहरुलाई सेल, जेरी र आलु केराउको तरकारी खुवाएको छ । प्रमुख अतिथी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र जिल्ला इन्चार्ज एवं मन्त्री गोकुल बास्कोटाको मन्तब्य सकिए लगत्तै कार्यकर्ताहरु सेल, तरकारीको लाईनमा बसेका थिए ।
जलपान कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं नेकपा नेता माधवकुमार नेपालले पार्टी एकिकरण र एकिकरण पछिका जिम्मेवारीका बारेमा बताउनु भएको थियो । जिल्ला अध्यक्ष रुकु चौलागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी माधवकुमार नेपालले सरकार र पार्टीलाई अवसर प्रदान गरेकाले जनताको मन जित्नुपर्ने बताउनु भयो । ‘नेपाली कांग्रेसले अवसर प्राप्त गरेका बेला मुलुकको समृद्धि तिर ध्यान दिन सकेन’–नेता नेपालले भन्नुभयो–‘दुई तिहाईको सरकारले मुलुकको हितका लागि काम गर्न चाहेको अवस्थामा सम्भव भएकाले सरकार र पार्टीका गति बढाउनु पर्ने छ ।’ प्रदेश नम्वर २ का आफ्नै समस्या भएको बताउँदै नेता नेपालले मुलुकको विकासका लागि सरकारले गरिरहेका कामहरुलाई अझै प्रभावकारी बनाउन पार्टी कार्यकर्ताहरु सक्रिय हुनु पर्ने बताउनु भयो ।
प्रदेश नम्वर ३ का अध्यक्ष नारायण दाहालले प्रदेश नम्वर ३ का सबै जिल्लामा पार्टी एकिकरणको मुल काम सकिएको बताउनु भयो । जिल्ला कमिटीहरु सबै निर्माण भएका छन् अब पालिका र वडा स्तरीय कमिटी निर्माणका लागि अभियान शुरु भएको उहाँले बताउनु भयो । सबै कमिटीहरु गठनसँगै पार्टी भित्र जागरण ल्याउन प्रशिक्षण संचालन गर्नुपर्ने उहाँले बताउनु भयो ।
जिल्ला इन्चार्ज, सरकारका प्रवक्ता सूचना तथा संचार मन्त्री गोकुल बास्कोटाले सरकारले मुलुकको समृद्धिका लागि काम गरिरहेको बताउनु भयो । सरकारले गरिरहेका राम्रा कामहरुको सन्दर्भमा गलत अपवाह फैलाउने गरी विपक्षीले चालेको कदमका विरुद्ध जनताले साथ नदिने बताउँदै पार्टीको सृदृढिकरण र सरकारका कामहरुलाई संगै बढाउने बताउनु भयो । कार्यक्रममा जिल्ला इन्चार्ज एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले मुलुकमा विधिको शासन स्थापित गर्न सरकार कटिबद्ध भएर लागेको बताउनुभएको छ । १२ बर्षपछि फौजदारी अभियोगमा सांसद अफताव आलम पक्राउ परेको बिरोधमा नेपाली काँगे्रसले सरकारले दमन गरेको सुशासन कायम नभएको आरोप लगाएको प्रति आक्रोश पोख्नुहुँदै गलत गर्नेलाई सरकारले नछाड्ने उद्घोष गर्नुभयो । सोहि कार्यक्रममा विप्लब कार्यकर्ता रमेश प्रसाद बोलखे लगायत केहि ब्यक्तिहरु नेकपामा प्रवेश गरेका थिए । दुबै पार्टी भित्रको आन्तरिक विवादका कारण ढिला भएको नेकपा काभ्रेको एकता प्रकृया गत शनिबार मात्रै टुङ्गिएको थियो । प्रदेश नम्वर ३ को सबैभन्दा अन्तिम जिल्लाका रुपमा काभ्रेपलाञ्चोकले १ सय २६ जना जिल्ला कमिटी सदस्यहरुलाई सपथ गराएको थियो । सपथ पछिको जिल्ला कमिटीको पहिलो बैठकले एकता सहितको चियापान कार्यक्रम गर्ने निर्णय गरेको थियो । त्यस्तै धुलिखेल नगरपालिका वडा नम्वर २ को उप निर्वाचनको तयारी र तल्लो तहसम्म पार्टी एकिकरणको प्रकृया सक्ने निर्णय गरेको छ । काभ्रेमा नयाँ संरचना अनुसार १३ तह, दुई संघिय र ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् भने १ सय ३५ वटा वडा रहेका छन् । कमिटीको बैठकले स्थानीय तहका सबै कमिटीहरु गठन गर्ने निर्णय गरेको छ । नेकपा काभ्रेमा तत्कालिन नेकपा एमालेबाट ६३ र माओवादीबाट ६३ जनाले सपथ खाएका थिए । जिल्ला सचिव टोकबहादुर वाइवाले एमालेका तर्फबाट ७८ र माओवादीबाट ६८ सदस्य छनौट गर्न पाउनेमा बाँकी रहेका मनोनित गर्न बाँकी रहेको बताउनुभयो । एमालेबाट १५ र माओबादी केन्द्रबाट पाँच मनोनित गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो । जलपान समारोहमा प्रदेश कमिटी सदस्य एवं पूर्व राज्य मन्त्री सुर्यमान दोङ्ग, प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटी सदस्यहरु, विभिन्न तहका नेता तथा कार्यकर्ता र शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: १५ कात्तिक २०७६, शुक्रवार ०७:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु