र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) मा काभ्रेका दुई युवामा कोरोना संक्रमण देखियो

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा एक एक जनामा र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) परिक्षणमा कोरोना संक्रमणको लक्षण देखिएको छ । थप परिक्षणका लागि धुलिखेल अस्पतालमा ल्याईएको छ ।
बेथान्थोक गाउँपालिकावडानम्वर ५ का २८ बर्षिय युवालाई आरडिटी परिक्षणमा कोरोना भाईरसको संक्रमण देखिएको हो । उहाँ चैत्र ९ गते भारतबाट नेपाल फर्किनु भएको थियो । उहाँलाई आज नै धुलिखेल अस्पतालमा थप परिक्षणका लागि ल्याईएको छ । पहिलो परिक्षणमा उहाँलाई संक्रमण देखिए पनि दोश्रो परिक्षणमा नदेखिन सक्ने अस्पतालले जानकारी दिएको छ । र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) परिक्षणमा भएको किटले उहाँमा संक्रमण देखाएको हो । बेथान्चोक गाउँपालिमा २२ जना चैत्र १ गते पछि फर्किएका ब्यक्तिहरु छन् ।
त्यस्तै मण्डन देउपुर नगरपालिमा वडा नम्वर ३ नयाँ गाउँका २३ बर्षिय युवामा द्रुतगतिको आरडिटी परिक्षणमा कोरोना भाईरसको संक्रमण देखिएको हो । उहाँ चैत्र ७ गते दुबईबाट फर्किनु भएको थियो । उहाँलाई २२ दिनक्वारेन्टाईनमा राखेर घर पठाईएको थियो । उहाँलाई पनि थप परिक्षणका लागि धुलिखेल अस्पताल ल्याईएको छ । उहाँको स्वाबको परिक्षणपछि दोश्रो रिपोर्ट आउनेछ । काठमाडौको अपार्टमेन्टमा रहेका एक जनालाई धुलिखेलमा गरिएको आरडिटी परिक्षणमा संक्रमण देखिएको छैन ।
स्थानीय सरकारले चैत्र १ देखि विभिन्न देशबाट काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न पालिकाहरुमा भित्रिएका २ सय ५१ जना ब्यक्तिहरुको परिक्षण गर्ने छ । जसमध्ये आजसम्म १ सय ९१ को परिक्षण सकेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं कमाण्ड पोष्टका सदस्य सचिव डा. नरेन्द्रकुमार झाले बताउनु भयो । काभ्रेपलाञ्चोक जिल्लामा कुवेत, साईप्रस, जापान, इराक, दुबई, कोरिया, भारत, साउदी अरव, मलेसिया, बहराईन, जोर्डन, न्युजील्याण्ड, बंगलादेश, चीन, माल्टा, मकाउ, माल्दिभ्स, युयई, ओमान, फ्रान्स, अष्ट्रेलिया, अमेरिका, जर्मन, उरुग्वे, थाईल्याण्ड, कतार, कब्बोडियालगायतका मुलुकहरुबाट जिल्लाबासीहरु जन्मघर फर्किएका छन् । फर्किएकामध्ये भारतको विहार, नयाँदिल्ली, बेङ्गलोर लगायतका स्थानबाट फर्किएका थिए । उनीहरुको दैनीक स्वास्थ्यकर्मीहरुले सम्पर्क गरेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिईरहेका थिए ।
प्रकाशित मिति: २ वैशाख २०७७, मंगलवार १७:५५ बजे