६ चैत २०८१, बुधवार

धुलिखेल नगरपालिका काभ्रे जिल्लाको पहिलो बालमैत्री नगरपालिका घोषणा हुँदै

काभ्रे । बालमैत्री नगरपालिका घोषणा गर्ने तयारीमा रहेको धुलिखेल नगरपालिकाले घोषणा पुर्वको अन्तिम सुचक मापन कार्यलाई तिव्रता दिएको छ । फागुन ५ गते नगरपालिकाको स्थापना दिवसको अवसर पारेर धुलिखेललाई बालमैत्री नगरपालिका घोषणा गर्ने तयारी छ । गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नगरपालिकाका ५ वटा वडालाई बालमैत्री वडा घोषणा गर्नुभएको थियो भने त्यसअघि नै वडा नम्बर १० बालमैत्री घोषणा भइसकेको थियो । बाल मैत्री स्थानीय शासन अन्तर्गतका ३९ सुचक मध्ये अधिकांश सुचक पुरा गरेसँगै बाँकी ६ वटा वडा पनि यो वर्ष बालमैत्री घोषणा हुन लागेको हो । यो सँगै धुलिखेल काभ्रे जिल्लाको पहिलो बालमैत्री नगरपालिका बन्नेछ । बालबचाउ, बालसंरक्षण, बालविकास र अर्थपुर्ण सहभागिता जस्ता बाल अधिकारका सवालहरुलाई स्थानीय स्तरको नीति योजना, प्रणाली र कार्य प्रकृयामा संस्थागत गर्नु नै बालमैत्री स्थानीय शासन हो ।
धुलिखेल नगरपालिकाले बालमैत्री स्थानीय तह घोषणाको तयारी अनुरुप बालमैत्री भएपछिको रणनीति योजना निर्माण कार्यक्रम नगर प्रमुख तथा नगर बालमैत्री स्थानीय शासन समितिको अध्यक्ष अशोक व्याञ्जुको अध्यक्षतामा सम्पन्न भएको थियो उक्त कार्यक्रम बाट नगरपालिकालाई बालमैत्री नगरको रुपमा निरन्तरता दिन आवश्यक योजना निर्माण भएको छ । उक्त कार्यक्रममा बोल्दै नगरप्रमुख अशोक व्याञ्जुले धुलिखेल नगरपालिकाले बालमैत्री नगर घोषणा पछि नगरमा बालमैत्री प्रदर्शन गर्ने र बालबालिकाको क्षेत्रमा निरन्तर काम गरिरहने कुरा बताउनु भयो।

यसै गरी नगरपालिकाले बाल अधिकार सुनिश्चितताको लागि हरेक वडामा बाल मैत्री संरचना र बाल उद्यान निर्माण गरेको छ भने अप्ठेरोमा परेका बालबालिकालाई सहयोग गर्न ३७ लाखको बाल कोष स्थापना गरेको छ । बालमैत्री वडा घोषणका लागि भइरहेका काम र उपलब्धि बारे जिल्ला समन्वय समिति प्रमुख उद्धब केसी, जिल्ला समन्वय समितिका परशुराम थापा, धुलिखेल नगरपालिकाका सामाजिक विकास अधिकृत तथा बालमैत्री स्थानीय शासन कार्यक्रमका सम्पर्क अधिकृत बिदुर गौतम, चेष्टा साप्ताहिकका सहसम्पादक लक्ष्मण तिमल्सिना, कार्यक्रमको सहजीकरण गरिरहेका हरिश्चन्द्र घिमिरे, दिपेश तिमल्सिना लगायतले अनुगमन गरेका थिए । अनुगमनका क्रममा समन्वय प्रमुख केसीले घोषणासँगै निरन्तरता दिनु ठुलो कुरा भएको बताएका छन् । बालबालिकाले बालमैत्री स्थानीय शासन कार्यक्रम सुरु भएपछिको सकारात्मक परिवर्तन बारे जानकारी गराएका थिए ।

प्रकाशित मिति: ३० माघ २०७७, शुक्रवार १६:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु