५ चैत २०८१, मंगलवार

अनुभवी युवाको टिमसहित धुलिखेल एमाले चुनावी मैदानमा

काभ्रे । आसन्न स्थानिय तहको चुनावमा एमाले धुलिखेल युवाको टिम सहित चुनावी मैदानमा होमिएको छ । नगर प्रमुख, उपप्रमुख देखि धेरै वडाध्यक्ष तथा वडा सदस्य सम्म युवाको टिमलाई अगाडि सार्दै एमाले चुनावमा होमिएको हो । उमेरले भर्खर ५० टेक्दै गरेका नगर प्रमुखका उम्मेदवार अशोक व्यान्जु २३ वर्षको उमेरमै २०५४ सालको स्थानिय निकायको चुनावमा धुलिखेल नगर उपप्रमुखमा निर्वाचित भएका थिए । तत् पश्चात नेपाल नगरपालिका संघको उपाध्यक्ष समेत थिए ।त्यसैगरी व्यान्जु राज्य पुर्नसंरचना पछि २०७४ सालमा भएको पहिलो स्थानिय तहको चुनावमा विपक्षी उम्मेदवारको भन्दा २,७०० धेरै मतले धुलिखेल नगरको प्रमुख पदमा निर्वाचित भएका थिए । यसका साथै नेपाल नगरपालिका संघको अध्यक्ष तथा विश्वभरिका १०० भन्दा धेरै नगरपालिकाको फोरमका अध्यक्ष समेत भएका व्यान्जुको देशव्यापी तथा अन्तरास्ट्रिय स्तरमा समेर उच्च छवि छ । आफ्नो पाँचवर्षे कार्यकालमा धुलिखेल नगरलाई पुर्वाधार विकास र सामाजिक विकास लाई संगसंगै डोहोर्याएका व्यान्जुले संसारकै उत्कृष्ट १५ सहरको सुचीमा धुलिखेल नगरलाई पार्न सफल भएका छन् ।

यसैगरी युवा उमेरसमुह बाटै उपमेयरको उमेदवारको रुपमा रहेकी लालतारा अधिकारी राजनितिका साथसाथै कानुनी क्षेत्रमा समेत उत्तिकै सकृय छिन । न्यायिक समितिको संयोजक समेत रहने उपमेयर पदमा युवा उमेरसमुह, लैङ्िगक समानता, भौगोलिक समानता गराउन साथै सम्बन्धित क्षेत्रको अनुभवी पात्रका रुपमा लालतारालाई एमालेले अगाडि सारेको छ ।

वडागत उम्मेदवार
वडागत रुपमा समेत एमालेले कार्यसम्पादनका आधारमा गत निर्वाचनपश्चात् उत्कृष्ट काम गरेका तथा सशक्त युवा पङ्क्तीलाई अगाडि सारेको छ ।
वडा नं २ को रविओपी क्षेत्रबाट अर्जुन न्यौपानेलाई अध्यक्षको उम्मेदवारका रुपमा अगाडि बढाएको छ । उमेरले युवा उनी धुलिखेल २ का निवर्तमान वडा सदस्य समेत हुन् । वडा अध्यक्ष स्व. राजन कोइरालाको असामयिक निधनपश्चात उपचुनावको समयसम्म उनले कुशलतापुर्वक कार्यवाहक अध्यक्षको जिम्मेवारी समेत पुरा गरेका थिए ।

यसैगरी वडा नं ३ बाट निवर्तमान वडा सदस्य एवं न्यायिक समिती सदस्य गणेश आचार्यले वडाध्यक्षको टिकट पाएका छन् । उमेरले ३० आसपासका आचार्य आफ्नो वडाका साथसाथै समग्र नगरमा युवा तथा सबै उमेरसमुहका मानिसमा उत्तिकै लोकप्रीय छन् । राष्ट्रिय युवा संघ काभ्रे जिल्लाको नेतृत्व पङ्क्तीमा रहेका उनी वडा अध्यक्षका लागि आफ्नो पार्टीबाट सर्वसम्मत सिफारिस भएका थिए ।

धुलिखेल वडा नं ६ मा निवर्तमान वडा सदस्य आनन्द सागर योगल पनि सर्वसम्मत रुपमा वडा अध्यक्षको सिफारिस भएका थिए । गत स्थानिय तहको चुनावमा वडा अध्यक्ष हार्दा समेत योगल वडा सदस्यमा निर्वाचित भएका थिए । स्थानिय समस्या र सम्भावनासँग परिचित उनी समेत उमेरले ३० आसपासका छन ।

यसैगरी वडा नं ७ मा युवा नेता अमित खोजु सर्वसम्मत वडा अध्यक्षको उम्मेदवारको रुपमा चयन भैइ युवा टिमका साथ मैदानमा छन् । खेलकुदमा समेत सकृय रहेका उनी समाजसेवामा आवद्द छन् ।

नगरको १२ ओटा वडामध्ये एकमात्र महिला अध्यक्षका उम्मेदवारका रुपमा वडा नं ८ बाट गिता तामाङ चुनावी मैदानमा होमिएकी छिन् । महिलालाई जवर्जस्ती सहभागिता गराउने प्रवृत्ती हटाउन सशक्त र कार्यकारी भूमिकामा अगाडि बढाउन महिलाको नेतृत्वसहित युवाको टिमलाई अगाडि बढाएको पार्टी वडा सचिव मिलन गौतमले बताए ।

नेकपा एमालेले धुलिखेल १० मा भने पुरानै अनुहारलाई दोहोर्‍याएको छ । नगर प्रवक्ता समेत रहेका पुष्पराज राउतलाई पुन: अध्यक्ष उम्मेदवारको रुपमा अगाडि सार्दै एकजना वडा सदस्यको उम्मेदवार मात्र परिवर्तन गरेको एमालेले बाकिँ सबैलाई दोहोर्‍याएको छ ।

क्षेत्रगत हिसावले ठूलो भेग समेटेको वडा नं १२ बाट निवर्तमान वडा सदस्य एवं न्यायिक समिती सदस्य मोहन लामिछाने वडा अध्यक्षको मैदानमा छन् । न्याय क्षेत्रमा लामो समय विताएका लामिछाने सादगी जीवन विताउने सरल स्वभावका नेताका रुपमा परिचित छन ।

यसरी अनुभव र युवाजोशको समिश्रणबाट टिम तयार गरेर मैदानमा होमिएको एमालेले वडा नं १ मा बाबू लामा सहितको युवा र अनुभवी टिम, वडा नं ४ बाट कमलबहादुर राय नेतृत्वको टिम, वडा नं ५ बाट युवा नेतृत्व प्रमोद सुन्दर श्रेष्ठसहितको टिम, वडा नं ९ बाट अनुभवी व्यक्तित्व चन्द्र प्रसाद हुँमागाई तथा वडा नं ११ बाट नारायण प्रसाद बडाल वडा अध्यक्षको लागि चुनावी मैदानमा छन् ।
एमाले धुलिखेलले वडा सदस्यमा समेत नव युवालाई प्राथमिकता दिएको छ । नगर सहसचिव चिनिमाया तामाङ, युवानेता हिरामाङ तामाङ ……….. लगायत युवापङ्क्ती विभिन्न वडामा वडा सदस्यको रुपमा चुनावी मैदानमा छन् ।

प्रकाशित मिति: १९ वैशाख २०७९, सोमवार २०:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु