२६ वैशाख २०८२, बिहीवार

अशोक व्यान्जु नेतृत्वको अनुभवी युवा टिमसहित धुलिखेल एमाले चुनावी मैदानमा

आसन्न स्थानिय तहको निर्वाचनमा एमाले धुलिखेल युवाको टिम सहित चुनावी मैदानमा होमिएको छ । नगर प्रमुख, उपप्रमुख देखि धेरै वडाध्यक्ष तथा वडा सदस्य सम्म अनुभवी र सशक्त युवाको टिमलाई अगाडि सार्दै एमाले चुनावमा होमिएको हो । उमेरले भर्खर ५० टेक्दै गरेका नगर प्रमुखका उम्मेदवार अशोक कुमार व्यान्जु २३ वर्षको उमेरमै २०५४ सालको स्थानिय निकायको चुनावमा धुलिखेल नगर उपप्रमुखमा निर्वाचित भएका थिए । त्यसपछि नेपाल नगरपालिका संघको उपाध्यक्ष समेत व्यान्जु राज्य पुर्नसंरचना पछि २०७४ सालमा भएको पहिलो स्थानिय तहको चुनावमा विपक्षी उम्मेदवारको भन्दा २,५०० धेरै मतले धुलिखेल नगरको मेयर पदमा निर्वाचित भएका थिए । यसका साथै नेपाल नगरपालिका संघको अध्यक्ष तथा विश्वभरिका १५० भन्दा धेरै नगरपालिकाको सम्मिलित अन्तरास्ट्रिय नगरपालिका फोरमका अध्यक्ष समेत भएका व्यान्जुको देशव्यापी तथा अन्तरास्ट्रिय स्तरमा समेत उच्च छवि छ । आफ्नो पाँचवर्षे कार्यकालमा धुलिखेल नगरलाई पुर्वाधार तथा सामाजिक विकास लाई संगसंगै डोहोर्याएका व्यान्जुको नेतृत्वमा संसारकै उत्कृष्ट १५ सहरको सुचीमा धुलिखेल नगरलाई पार्न सफल समेत भएका छन् ।

यसैगरी युवा उमेरसमुह बाटै उपमेयरको उमेदवारको रुपमा रहेकी लालतारा अधिकारी राजनितिका साथसाथै कानुनी क्षेत्रमा समेत उत्तिकै सकृय छिन । न्यायिक समितिको संयोजक समेत रहने उपमेयर पदमा युवा उमेरसमुह, लैङ्िगक समानता, भौगोलिक समानता गराउन साथै सम्बन्धित क्षेत्रको अनुभवी पात्रका रुपमा लालतारालाई एमालेले अगाडि सारेको छ ।

वडागत उम्मेदवार


वडागत रुपमा समेत एमालेले कार्यसम्पादनका आधारमा गत निर्वाचनपश्चात् उत्कृष्ट काम गरेका तथा सशक्त युवा पङ्क्तीलाई अगाडि सारेको छ ।
वडा नं २ को रविओपी क्षेत्रबाट अर्जुन न्यौपानेलाई अध्यक्षको उम्मेदवारका रुपमा अगाडि बढाएको छ । उमेरले युवा उनी धुलिखेल २ का निवर्तमान वडा सदस्य समेत हुन् । वडा अध्यक्ष स्व. राजन कोइरालाको असामयिक निधनपश्चात उपचुनावको समयसम्म उनले कुशलतापुर्वक कार्यवाहक अध्यक्षको जिम्मेवारी समेत पुरा गरेका थिए ।

यसैगरी वडा नं ३ बाट निवर्तमान वडा सदस्य एवं न्यायिक समिती सदस्य गणेश आचार्यले वडाध्यक्षको टिकट पाएका छन् । उमेरले ३० आसपासका आचार्य आफ्नो वडाका साथसाथै समग्र नगरमा युवा तथा सबै उमेरसमुहका मानिसमा उत्तिकै लोकप्रीय छन् । राष्ट्रिय युवा संघ काभ्रे जिल्लाको नेतृत्व पङ्क्तीमा रहेका उनी वडा अध्यक्षका लागि आफ्नो पार्टीबाट सर्वसम्मत सिफारिस भएका थिए ।

धुलिखेल वडा नं ६ मा निवर्तमान वडा सदस्य आनन्द सागर योगल पनि सर्वसम्मत रुपमा वडा अध्यक्षको सिफारिस भएका थिए । गत स्थानिय तहको चुनावमा वडा अध्यक्ष हार्दा समेत योगल वडा सदस्यमा निर्वाचित भएका थिए । स्थानिय समस्या र सम्भावनासँग परिचित उनी समेत उमेरले ३० आसपासका छन ।

यसैगरी वडा नं ७ मा युवा नेता अमित खोजु सर्वसम्मत वडा अध्यक्षको उम्मेदवारको रुपमा चयन भैइ युवा टिमका साथ मैदानमा छन् । खेलकुदमा समेत सकृय रहेका उनी समाजसेवामा आवद्द छन् ।

 

नगरको १२ ओटा वडामध्ये एकमात्र महिला अध्यक्षका उम्मेदवारका रुपमा वडा नं ८ बाट गिता तामाङ चुनावी मैदानमा होमिएकी छिन् । महिलालाई जवर्जस्ती सहभागिता गराउने प्रवृत्ती हटाउन सशक्त र कार्यकारी भूमिकामा अगाडि बढाउन महिलाको नेतृत्वसहित युवाको टिमलाई अगाडि बढाएको पार्टी वडा सचिव मिलन गौतमले बताए ।

नेकपा एमालेले धुलिखेल १० मा भने पुरानै अनुहारलाई दोहोर्‍याएको छ । नगर प्रवक्ता समेत रहेका पुष्पराज राउतलाई पुन: अध्यक्ष उम्मेदवारको रुपमा अगाडि सार्दै एकजना वडा सदस्यको उम्मेदवार मात्र परिवर्तन गरेको एमालेले बाकिँ सबैलाई दोहोर्‍याएको छ ।

क्षेत्रगत हिसावले ठूलो भेग समेटेको वडा नं १२ बाट निवर्तमान वडा सदस्य एवं न्यायिक समिती सदस्य मोहन लामिछाने वडा अध्यक्षको मैदानमा छन् । न्याय क्षेत्रमा लामो समय विताएका लामिछाने सादगी जीवन विताउने सरल स्वभावका नेताका रुपमा परिचित छन ।

यसरी अनुभव र युवाजोशको समिश्रणबाट टिम तयार गरेर मैदानमा होमिएको एमालेले वडा नं १ मा बाबू लामा सहितको युवा र अनुभवी टिम, वडा नं ४ बाट कमलबहादुर राय नेतृत्वको टिम, वडा नं ५ बाट युवा नेतृत्व प्रमोद सुन्दर श्रेष्ठसहितको टिम, वडा नं ९ बाट अनुभवी व्यक्तित्व चन्द्र प्रसाद हुँमागाई तथा वडा नं ११ बाट नारायण प्रसाद बडाल वडा अध्यक्षको लागि निर्वाचनमा होमिएका छन् ।
एमाले धुलिखेलले वडा सदस्यमा समेत नव युवालाई प्राथमिकता दिएको छ । नगर सहसचिव चिनिमाया तामाङ, युवानेता हिरामाङ तामाङ लगायत युवापङ्क्ती विभिन्न वडामा वडा सदस्यको रुपमा चुनावी मैदानमा छन् ।

प्रकाशित मिति: १९ वैशाख २०७९, सोमवार २१:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु