११ वैशाख २०८३, बिहीवार

चिकित्सा शिक्षामा बढी शुल्क असुल्ने कलेजलाई कारबाही गर्न विद्यार्थी संगठनहरुको माग

काठमाडौं । विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कभन्दा बढी असुल्ने कलेजहरुलाई कारबाही गर्न माग गरेका छन्।
एमाले निकट अनेरास्ववियुसहित ७ विद्यार्थी संगठनले आज चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाउदै अतिरिक्त शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्न र शुल्क फिर्ता लिन माग गरेका छन् ।
चिकित्सा शिक्षामा भइरहेको विकृति र विसंगतिविरुद्ध विभिन्न राजनीतिक दलनिकट विद्यार्थी संगठनहरुले चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क भन्दा बढी शुल्क असुल्ने कलेजहरुलाई कारबाही गर्न माग गरेका हुन्।

बिहीबार चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीलाई ज्ञापन पत्र बुझाउँदै विद्यार्थीहरुले तोकेको शुल्कभन्दा बढी शुल्क असुल्ने मणिपाल मेडिकल कलेज, सीएमसी मेडिकल कलेज, किस्ट मेडिकल कलेजलगायत सम्पूर्ण निजी मेडिकल कलेजहरुलाई कारबाही गर्न माग गरेका हुन् । उनीहरुले ती कलेजहरुलाई कारबाहीको दायरामा ल्याइ असुलेको सम्पूर्ण शुल्क तत्काल फिर्ता गर्न, चिकित्सा शिक्षाअर्न्तगत प्रवेश परिक्षा फारम भर्दा लिने गरिएको चर्को शुल्क तत्काल खारेज गरी गरिब तथा विपन्न विद्यार्थीहरुको पहुँचमा पुग्ने गरी वैज्ञानिक तवरबाट शुल्क निर्धारण गर्न, चिकित्सा शिक्षामा भैरहेको वेथिति, विसंगतिलाई अन्त्य गरी गुणस्तरीय शिक्षा प्रदान गर्न माग गरेका छन्।

ज्ञापन पत्रमा उनीहरुले चिकित्सा शिक्षा अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरुबाट मेडिकल कलेजहरुले आयोगले निर्धारण गरेको शिक्षण शुल्कको अतिरिक्त आयोगको निर्णयलाई समेत बेवास्ता गर्दै लुटवादी मानसिकता राखी गैर कानुनी रुपमा विभिन्न फर्जी शिर्षक, उपशिर्षक खडा गरी अतिरिक्त शुल्क असुल्ने कार्यप्रति भर्त्सना प्रकट गरेको उल्लेख गरेका छन्।
ज्ञापन पत्र बुझाउनेहरुमा अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल (पाँचौ), राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, राष्ट्रवादी विद्यार्थी संगठन, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, राष्ट्रिय विद्यार्थी संघ रहेका छन्।

प्रकाशित मिति: १ पुस २०७८, बिहीवार १९:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु