अबको लडाइँ समानता र समतामूलक राष्ट्र निर्माणको लागि हुनु पर्दछ ।

नेपाली शब्द कोषको अनुसार नेता शब्दको अर्थ भनेको कुनै दल,संस्था ,समूह आदिलाई नेतृत्व दिने व्यक्ति भनेर चिनिन्छ। तर , नेता शब्द सुन्दा जति सजिलो सुनिन्छ नेता बन्न त्यत्ती नै गर्हो रहेको मेरो अनुभव छ । समाज वर्गमा विभाजित छ, सबै वर्गका आफ्नो निश्चित स्वार्थहरु छन् । त्यसैले वर्ग सङ्घर्ष त वर्गीय समाजमा अनिवार्य नै छ । समाजलाई यथास्थितिमा मन पराउने, कोही झन् पछाडि धकेल्न चाहने, त कोही अग्रगामी परिवर्तन गर्नु पर्छ भन्नेको जमात बीच राजनीति त हुने नै भयो । त्यसैले यी तीन वटा राजनीति गर्ने सबै नेतालाई थुप्रै आलोचना र चुनौती हरुको सामना गर्नुपर्ने हुन्छ । संगठन यसकारणले टिकेको हुन्छ कि यसले तमाम जनतालाई आशा र भ्रष्ट्र सत्तालाई डर दिन्छ । त्यसैले कुनै सङ्गठनको व्यक्तिले आफुलाई नेता मान्छ भने उसले आफुबाट सङ्गठन सुदृढीकरणको आस गरेको हुन्छ । मेरो व्यक्तिगत अनुभव भन्दा जब म काठमाडौं विश्वविद्यालयको स्ववियु सभापतिमा निर्बाचित भए म माथी थुप्रै विद्यार्थीहरुको आस थियो कि मैले विद्यार्थीहरुको सम्पुर्ण समस्याहरु हल गरौं , प्रशासन सम्म विद्यार्थीको पहुँच पुर्याउ र विश्वविद्यालय र यहाँका विद्यार्थीको चौतर्फी विकास लागि सहयोग गरौं । म कत्तिको सफल वा असफल भए त्यस्को छिनोफानो मैले भन्दा विश्वविद्यालय विद्यार्थी आफैले महसुस गर्ने कुरा हो। मैले यो छोटो राजनैतिक दौरानमा असल नेता हुनु भनेको आफू जनता बाट चुनिनु मात्र नभइ आफू निर्वाचित भैसकेपछी पनि आफुलाई नेता मानेको व्यक्ति वा समुहको ढुकढुकिमा बसिरहनु हो भन्ने बुझेको छु। समाज निर्माणकालागि हजारौं, लखौँ जनताको महत्त्वपूर्ण भूमिका त हुन्छ तर त्यसलाई सही मार्गमा लैजाने नेतृत्व नेतामा हुनुपर्छ । कसैले कुनै मञ्चमा गएर मिजासिला कुरा गरि कसैको मन जित्छ भने उ एउटा राम्रो वक्ता मात्र हो, राम्रो नेता हैन । मञ्चमा बोलेका कुराहरु, आफुले अक्षरस पालना गर्ने व्यक्ति असली नेता हुन्छ । एउटा नेताले आफुले नेतृत्व गरेको समूह, समाज, सङ्गठन अथवा रास्ट्रको चौतर्फी विकासका निमित्त आफ्नो दृष्टिकोण प्रष्ट पार्न सक्नु पर्छ र आफ्नो दृष्टिकोणलाई परिपूर्ति गर्ने काम कारबाहीहरु गर्नु पर्दछ। नेता हुन थुप्रै संघर्ष र बलिदानको जरुरत भएको मैले बुझेको छु, आफ्नै चित्त दुखाएर अरुको चित्त बुझाउनु पर्ने वाध्यता एक नेतामा हुन्छ, जुन म स्वयमले धेरै पटक भोगेको छु । कुनै पनि चिजको नेतृत्व गर्दै नेता बन्दा आफ्नो घरपरिवारलाई समय निकाल्न नसक्नु, आफ्ना मान्छेलाई समय दिन नसक्ने पीडा एउटा नेताले बोकेर हिंडेको हुन् छ। हरेक प्रकारका समस्याको समाधान एक नेताले गर्ने सक्नुपर्ने हुन्छ। म सधै असलि र सच्चा नेता बन्ने प्रयासमा छु र हुनेछु ,जस्तोसुकै परिस्थितिमा पनि मलाई विश्वास गर्ने जामातको विश्वासघात हुन दिने छैन। त्यसैले अबको विद्यार्थी नेताको लडाइँ समानता र समतामूलक राष्ट्र निर्माणका लागि हुनेछ । लेखक सुन्दर लामा अनेरास्ववियु केन्द्रिय सचिबालय सदस्य हुनुहुन्छ ।
प्रकाशित मिति: २१ साउन २०७९, शनिवार १९:१३ बजे