१७ माघ २०७९, मंगलवार

धुलिखेलको नलेखोएको पानीको इतिहास । (कथात्मक प्रस्तुती )

प्यासको सिलसिला ………………
-अशोक ब्यान्जु
गोफ्ले आज निरास छ । सधै सबैलाई थर्काउने, ध्वाँस दिने गोफ्ले आज सबैको अगाडि हारेको र आफैसँग गिरेको अनुभूति गर्दै सुक्सुकाउँदै छ । स्रोहखुट्टे पाटीमा सबै जम्मा भएका छन । भलादमीहरु खासखुस गर्दैछन । के गर्ने, कसो गर्ने गफ शुरु भएको छ । मौनता भित्र लज्जा मिसिएको छ । समाजमा अन्योलता छ । गोफ्लेको अनुहार चहकिलो छैन । मलिन र युद्ध हारेको योद्धा झै मुख घोप्ट्याएर बसेको छ । ल भन के भो आज गोफ्ले भन्दै सबै बोल्न थाले । जिम्मवालले आजको छलफल सुरु भो सबै दाजुभाइले हिजोको घटना बिस्तार गर्न म गोफ्लेलाई भन्छु भन्ने आदेश जारी गरे । आँखा भरी आँसु र भित्रैबाट पराजित मनस्थितीमा देखिन्छ गोफ्ले । सकि नसकी उभिदै बोल्न थाले तर स्वर निस्केन । रुन पो थाले गोफ्ले त । सबैले सम्झाए हामी छौ पिर नगर, नडराउनु । जे भन्नू छ भन के भो हिजो ?
थुक सुकाउदै छ गोफ्ले । बोल्न थाल्यो बल्ल । हिजो जगंलमा बन फडानी हुँदै थियो । मैले देखे पछि जङ्गल भित्र पसे । रुख काट्नेहरुलाई लखेटिँदै जाँदा जङ्गलको लन्थासी नजिकै पुगे पछि चार जना महिला र पाँच जना पुरुषले ठुलो रुख काटदै रहेछन । उनीहरु पनि म तिर जाई लाग्न थाले दुबै ठाउको जम्मा भएर मलाई समाते कुटे र रुखमा बाँधेर दाउराले खुट्टामा, ढाडमा निक्कै बेर हाने म एक्लो केही गर्न सकिन चिच्याए तर कसैले सुनेन । उनीहरुले मलाई समाते, तलाई मारीदिन्छु भन्दै हिँडे । अब वन तिर न आउनु भन्दै गए । आए राम्रो हुन्न भन्दै थिए ।
म अब यो बनपालेको काम गर्दिन । ज्यानको प्रवाह नहुने रहेछ । म एक्लै मान्छे अनि कसरी सकिन्छ र ? बन मासेर सकिने भो बन सके पछि पानी सकिन्छ । हरियाली सक्छ । सबै यहि बन मास्ने मात्रै छन जोगाउने कोहि छैन । हिजोलाई जे भो भो त्यो मान्छे समाई कारवाही गर्नु प¥र्यो पञ्चायतले । छ गाउँका मानिसको घाँस दाउराको आश्रीत बन यहि छ । ठुला रुख काटदै छन दिनहुँ । बन पातलिन थालेको छ । बिचरा एउटा बन पालेले मात्र के गर्न सक्नु ? तै पनि कडा मिजासका गोफ्ले दिनहुँ बन हेर्छन । जोगाउन उसको ठूलो भुमिका छ । सधै घाँस र पतकर मात्र लिए त हुन्थयो नि । राम्रो र ठूलो रुख ढाल्छ्न । बुट्यान मात्र बाँकी हुने बेला भयो । बनको संरक्षकत्व पञ्चायतको हो । तर पञ्चायतले एउटा पालेको भरमा छोडेको छ । लामो बहस पछि गोफ्लेको कुरा नै सबैले स्विकारे र बन जोगाउन, पानीको बजारमा ब्यबस्थापन गर्ने सहमती गरे ।
खानेपानी धाराबाट लिने, नुहाउन र लुगा धुन बन र खोल्सा तिर जाने । जुगेपानी, दर्शनधारा, तिनधारा, लन्थासी, वतिकटे कुवा, महादेवथान, खुवाई हिटिमा जाने जुद्ध धाराबाट खानेपानीको आपुर्ती मात्र लिने दिने र जङ्गलको संरक्षण गर्न प्रशासनको सहयोग लिने निर्णय भयो । तर गोफ्लेलाई त्यति मन परेको थिएन । बन मास्नेलाई खोजेर कार्वाही गर्नु पर्छ । म अब एक्लै जङ्गल जान्न भन्ने कुराको जवाफ नपाएर उसको असन्तुस्टी थियो । जङ्गलमा बन मास्नेहरुले गरेको कुटपिटको विरुद्धमा कडाइका साथ लाग्नुपर्छ भन्ने राय थियो उनको । सबैले त्यसमा सहमति जनाउँलान भन्ने थियो गोफ्लेलाई । जङ्गलमा गरेको सबै घटनामा खासै ध्यान नदिएको झै भान भयोे गोफ्लेलाई । तर जिम्मवालले त्यस्तो होइन हामी आवस्यक सुरक्षाको लागि प्रशासन कार्यालयमा परिपत्र गर्छौ र तपाईलाई पनि आवस्यक सहयोगी थप्छौ भने पछि बल्ल मौन सहमती जनाए ।
पानीको अभाब बढिरहेको छ बजारमा । सधै एक सय देखि दुई सय गाग्री लाईनमा हुन्थे धाराको अगाडी । दिनहुँ झगडा महिलाहरुको । कोहि कोहिको कपाल भुत्ल्याउनु, एक दुई दिन बिराएर झगडा नभएको हुन्नथ्यो । पानीको ब्यबस्थापन कठिन हुँदै गई राखेको छ ।
नयाँ जिम्मेवारी थपिएको छ । गोफ्लेलाई अब उपरान्त सातवटै जुद्धधारामा लुगा धुने र नुहाउन नपाउने नियम गाउँ पन्चायतले लगाएको छ । र धारामा मात्र खानेपानी लिन पाउने छ । बिहान छ बजे देखि दश बजेसम्म धारा आउने र साँझ चार बजे देखि राती आठ बजे सम्म खानेपानी बितरण हुन थाल्यो । अरु समय धरा बन्द भए । तर कुनै पनि धारामा दुई तीन सय घटी गाग्री हुन्न थियो । मुख धुने र कोइलाले दात माझ्ने, कोहि कोहिले दत्तिवनले नि माझ्थे । तर धेरैले कोइला नै प्रयोग गर्थे । पछि पछि रातो धुलो दन्त मन्जन पनि आउन थाल्यो त्यो बजारमा हत्तपत्त पाउदैन । काठमाडौं वा बाहिरबाट आएकाहरुले प्रयोग गर्थे । करुवा, पुजा थाली, गाग्री धेरैले बोकेर आउँथे । जिल्ला सदरमुकाम भएकोले कर्मचारी र पुलिसका श्रीमतीहरु डराई डराई पानी थाप्थे । किन कि भाषा नबुझ्नु र नयाँ भएकाले अलि अफठ्यारो मान्थे ।
हामी बच्चा केटाहरु शनिबार आफ्नो लुगा लिएर कहिले तिनधारा, लन्थासी कहिले दर्शन धारा र जुगे धारा जान्थ्यौं । नुहाउने अनि हप्ताभरिको जुत्ता मोजा सर्ट पाइन्ट धुन्थ्यौं । त्यसताका घर–घरमा शौचालय थिएन हामी बारीको पाटामा शौच गर्न जान्थिउ । महिलाहरु बिहानै चार बजे उठेर क्वाच्चा, रान्ना पुखु, पिपलबोट र हखङ्ग पुहु मुनि जान्थे । धेरै जसो मान्छेहरु सडक किनारमै बिस्ट्याउँथे । फोहर अनि पानीको अभावले झाडा पखाला र हैजा लागेर धेरै मानिस मर्थे । मानौ शहरको पानीले सबै भन्दा ठूलो अभाव भोग्दै आएको छ ।
बजारमा पुरानो ढुङ्गा बिच्छ्याएकाले हिड्न अफठ्यारो थियो । कार्तिक मंसिर आँगन आँगनमा आफ्नो धान सुकाउने कहिले काँहि ठाउँ पाईदैनथ्यो । हामी बिहान स्कुल जानू अघि, साँझ र राती धान छोपेको माथी सुरी खेल्थेउ । राती धान चोर्छ भनेर केटाहरु धान कुरेर बस्ने गर्थे रातभर । गित गाउने, कथा भन्ने । राति अबेरसम्म एक त रमाइलो साथीहरु सँग अर्को डर भगाउन । किन भने रातभरी आँगन र चोकमा सुत्न गाहे थियो । अनि राती धान चोर्न आउंने गर्थे त्यसको रखवाली पनि हुन्थ्यो हाम्रो धान कुराई । हप्तौ धान सुकाउने काम हुन्थे । फलामको धान तान्ने र ओल्टाउने र पल्टाउने काम आमा, हजुरआमा, काकी र भाउजूहरुले गर्थे । वरपर बसेर निफन्ने र भुस हटाउँथे । रमाइलो हुन्थ्यो तीनताका हाम्रो बाल मनस्थितीलाई ।
मनोरञ्जनको अरु साधन थिएन । शनिबार आए पिच्छे पाईपको घर्घच्चा बनाउँथे साथिभाई खेल्दै कहिले टुँडिखेल कहिले शिशापाखा र अरनिको राजमार्गको पक्कुच्चा, भमरकोटसम्म पुग्थे । कहिले बुडोल खेल्दै पुगेका हुन्थे । सिमि, गुच्चा, खोप्पी र डन्डीबियो र पित्ता खेरेर लाखलाखको जित हार गर्थे । चुरोटको बट्टालाई पैसा मानेर खेल्थे । लालीगुँरासको एक रुपैया पनामा चुरोटको बट्टा दस, गैंडा चुरोटको बट्टा पचास, याक चुरोटको सय पाँच सय, पच्पन्नको एक हजार भन्दै खेल्थे । दिन साँझ र बिहान यसरी नै बिताउने गर्थे । गुच्चा खेल्दै र्कुकुच्चामा हान्ने र टाढाटाढा सम्म दुरि कायम हुन्थ्यो । बाल खेलकुद धेरै मज्जा आउँथ्यो ।
धारामा दिनहुँ झगडा भै रहन्थो । क–कसको आमा कस्को दिदी कसैको भाउजूहरु पानी लिने र दिने निहुँमा झगडा हुँदा गोफ्ले आएर मिलाउँथे । उसले हामी बच्चाहरुलाई तह लगाउने ग¥थ्यो । हामीलाई आफू भन्दा ठुलाले अचराङ्ग काम गरे गोफ्ले बोलाउ भनेर थर्काउने गर्थे । हामी पनि डराउँथ्यौ उ सँग । नजिकै परे आँखा ठूलो–ठुलो पारेर मारौला झै थर्काउने र कहिलेकाँही कुटपिट पनि गर्थे मानौ सोले फिल्मको गब्बर सिङ्ग झै लाग्थो हामीलाई । महिलाहरुले धारामा नुहाए, लुगा धोए भने बाटा, आरी, गाग्री उठाएर लैजान्थे । उसलाइ पन्चायतले त्यहि जिम्मा दिएको थियो । पानीको जोहो, मुहान रेखदेख र वन जोगाउने । हामी चाहिँ जिस्काउँथ्यौं गोफ्लेलाई । गोफ्ले आयो भने हामी उरन्ठेउलाहरु जिस्काउँदै भाग्थ्यौं । बजारमा हामीलाई थर्काउने, जङ्गलमा तर्सिने गोफ्ले बुढा भन्दै भाग्थ्यौं । भेट्टाएर समाते मारी हाल्थे बुढाले ।
एक दिन अचम्मै भयो । गोफ्ले थाके झै लाछिको सोह्रखुट्टे पाटीमा झुक्याएर बसेको रहेछ । अलि चिन्तित र गम्भीर मुद्रामा । उसले गाउँलेलाई बोलायो । सयौको संख्यामा मान्छे जम्मा भएका छन वरपर । पानीको, जङ्गलको अनि जुद्ध शम्शेरको बारेमा सुनाउन थाल्यो । तिमिहरुलाई थाहा छ ? यो धारा र पानीको कथा त्यसै यो बस्तिको मान्छेले पाएको हो ? त्यसै पानी खान पाएको हो ? महाराज जुद्धसमशेर र श्रीनाथ साहुले गर्दा खान पाएको हो । अब मान्छे बढे । बस्ती बढ्यो अनि पानी अभाब हुन थाल्यो । वन पनि वरपरबाट मासिन शुरु भयो तिमिहरु नयाँ पुस्ताले पहल गर्नु प¥यो यो पानीले अब थेग्दैन । उसले जुद्धशम्शेरको कर्मा र श्रीनाथको पहल कह्यो ।
काठमाँडौको टँुडिखेल मानिसहरुको भिड देशभरिका मानिसहरुको जमघट । श्री ३ महाराजको आगमनको प्रतीक्षामा छन जनता । कालो पोशाक लगाएका पुलिस र भाई भारदारको उपस्थिती भई सकेको छ । घोडा र बग्गी बिस्तारै आउन थालेको छ । हल्ला धेरै छ । लाम लागेको बिहान बिहानै । लोटामा पानी भर्दै खुवाउँदै थिए । कोहि सानो–सानो नाग्लो पसलमा चिया पकाउँदै छन् । लाखामारी जेरि स्वारी, साखमाली, नुनको चिया हल्का ज्वानो हालेको जाडोको बिहानी पख । माटोको भाँडामा चिया खाँदै छन । कोहि पटुकाबाट झिक्दै चिउरा चपाउँदै छन । अलि अलि थ्व (जाँड) पनि भद्रकाली तिरको भट्टिमा खान थालेका छन ।
श्री ३ महाराजको आगमनको सन्देश सुनाउदै धरररर…….धररर …………धम दमाहा बज्न थाल्यो । सावधान, सावधान, सावधान….. श्री ३ महाराज महाराज जुद्ध शमशेर कि जय । उभिएका सबैले एक स्वरमा भन्न थाले जय…… जय……जय …… महाराजकी जय । धेरै पटकको गुन्जन बल्ल रोकियो ।
ठूलो स्वरले महाराजकी जय जय भन्दै एउटा पण्डितले बोल्यो । निरन्तर उसको आवाज गुन्जी रहेको छ । यत्तिकैमा महाराज जुद्ध शमशेरको बग्गी खत्रक खत्रक गर्दै आई रहेको छ । सन्नाटा छायो । अघिसम्म हल्ला गरिरहेकाहरु सबै मौन भए । यत्तिकैमा एउटा प्रश्न सोधियो ठुलो नगरा सगै उसको आवाज गुन्जिन थाल्यो । । महाराज श्री ३ सरकार टँुडिखेलमा सवारी हुदैँछ । सकल जनका प्रिय र प्रजापालक सरकारलाई स्वागत अभिनन्दन टक्र्याउँदै आजको जनचासो र जनताको दुख कष्ट बिसाउन हुकुम भए बमोजिम पालोपालो गरि बोल्ने । जवाफ टिपोट गर्नेलाई पछि भेट्ने । महाराजको गाथमा कस्ट हुने र गर्ने प्रयत्न नगर्न र नगराउन सन्देश गरिन्छ । आदेश पालना सबै जनाबाट होस । अन्यथा सजाँयको भागी हुने छन । दमाह रोकियो । पुलिसहरुको भिड बढ्न थाले । उसले उसलाइ धकेल्ने उसले उस्लाइ तान्ने । भिड भढी रहेको छ ।
यसै क्रममा महाराजको टुँडिखेलमा प्रबेश भयो । बाजागाजा चल्छन । भाव विव्हल छन कोहि । सम्मानमा शिर झुकेको छ । जय जय कारको नारा गुन्जिएको छ । अभिबादनको क्रम सकिय पछि आसनमा घचक्क बसे र सलामी दिए सेना र प्रहरीले । हाँस्दै लाईनमा उभिएकालाई हेर्दै काने खुसी गर्दै छन दायाँ बायाँका सँग । यत्तिकैमा उर्दि पत्र पल्टाउदै बोल्न थाले । प्रजा बत्सल सरकारको हजुरमा आफ्नो बिषय राख्न आलोपालो गरेर र महाराजबाट बकस भएको कुरा सुन्ने मात्रा । दोहोरो न बोल्ने । पहिला अगाडि दाम राखी दण्डवत गर्ने । लाईनमा भएकाहरुलाई सिपाहीहरुले पालोपालो समीप ल्याउन आदेश गरिन्छ । सबैले पालोपालो आफ्ना कुरा राख्दै गए कुरा सुन्दै गए नजिकै खातापाता बोकेकाले सुन्दै र लेख्दै छन । सन्नाटा छ मैदानमा ।
१२ औ नम्बरको पालो आयो । आफूसँगै गएका आफ्नो चार दाजुभाई लाम लागेका छन महाराज सामु । घर कहाँ हो साहु माहाजन को ? अनुहार र लवाइ हेर्दा महाजन जस्तै लागो ?
धुलिखेल सरकार । सानो तिनो ब्यापार गर्छु सरकार ।
ए……धुलिखेले साहुलाई के भो त्यस्तो ? भनी सोध्नु भो । जनताले पानी खान पाएनन सरकार । हो ……र…..धुलिखेलमा त ठूलो बन छ । नजिकै त्यस्तो ठाउँमा नि पानीको अभाब भो र ? डराउँदै दुई हात जोडी सरकार दु ःख नभै हजुर कहाँ मैले बिन्ती बिसाउने हिम्मत कहाँ गर्न सक्छु र ? ल…….ल…. अरु कस्तो छ त । व्यापार राम्रो छ नि ? ब्यापार गच्छे अनुसार भाई बन्धुले गरेकै छ सरकार । देशाटनमा पुर्खाले गरेको कर्ममा महाराजको अहित चिताएको छैन बन्धुहरुले । भुटान, सुखिम (सिक्किम) दार्जिलिङ सम्मै छ हजुर । गाउ बस्तिमा नुन, तेल, लताकपडा, घिउको काम थापिएको छ सरकार । सरसापट चलाउने भै राखे कै छन ।
अहँ…. अनि अरु के छ भन्नू ? महाराजबाट बक्स भयो ।
महाराजको हजुरमा पानीको समस्या बिसाउँछु । हामीलाइ बाँच्न दिनु प¥यो सरकार । पानीले दुख भयो ज्यान बचाई पाउँ । ११ सय घर धुरिले पानी खान पाइएन सरकार । आज सानो स्वर छ । सधै ठुलो स्वरमा बोल्ने मान्छे सायद सरकारको अगाडी भएर होला । उनि सानो स्वरले बोलेका थिए ।
दुःख बिसाउँदै सुस्केरा हाले लामो श्रीनाथ बुढाले । फेरि सुस्केरा हाल्दै सरकारको अनुकम्पा र बन्धुको कर्मले सबै ठिकै छन । कम्पनी सरकारले कर बढाएको छ तल देशबाट सामान र नगद ल्याउँदा यसलाई पनि मिलाई दिनु प¥र्यो हजुर ।
अलिकती डर, अलिकती आशा र अलिकती बिस्वास लिएर उभिएको छन बुढा । पछडि भाई बन्धु दुई हात जोडिएर उभिएका छन । तर मौन । पछाडिका को हुन साहु ? सरकार ? उनले फ्याट्टै भने भाईहरु । ए….. आफ्नै भाई कि गाउँले भाई भन्दै पुलुक्क पछाडिका भाईहरुलाइ महाराजबाट सोधनी भएकोमा मुस्कुराउँदै भन्छ्न । सरकार आफ्नै परिवारका भाईहरु हुन ।
निगाहा होस प्रभु भन्दै आफ्नो दुख बिसाए । फेरि सानो स्वरले सरकार महिलालाई पानी लिनु र आउनुमै दिन सक्ने कुवा र पँधेरा टाढा छन । इनार ढुंगे धाराले पुगेन । एक मुठी पानीले ज्यान जाने भो । प्राण मर्न भो । पानीको हाहाकार छ सरकार । धेरै केटा मान्छे बहिर ब्यापारमा । हामी बुढा बुढी र महिला बच्चा बच्चिहरु मात्र छौ हजुर । यस्तो पुरानो शहर पानी बिना उजाडिने भो र हामी बसाई सर्ने कि पानी खोज्ने हालत भयो । यतिकैमा महाराज हुकुम भो । ल ल म बडा हाकिमलाई प्रबन्ध गर्न जिम्मा दिन्छु । के रे साहुजीको नाम । महाराज श्री नाथ ब्यान्जु । ल ब्यान्चा साहु ढुक्क भएर जानु । अब म तिमीहरुलाई पानीको ब्यबस्था गरिदिन्छु । सरकारको आदेश गाउँ बस्तिमा तामेल गर्नु ।
सरकारमा बन्दोवस्त गर्दै चारवटा रातो खसी भेटी चढाए सरकार फिर्ती भए आफ्नै घर ।
यसरि ७ महिना पछि खुसी छायो सरकारबाट धारा ७ र पानीको पाइप सहित आवस्यक प्रबन्धको खबर आयो ।
श्री ३ जुद्ध धारा । श्री ३ महाराज जुद्ध शम्शेरले इङ्ग्लान्डबाट बनाइ ल्याई दिएको धारा । अझै धुलिखेलमा सात स्थानमा छन । एउटा उदाहरणिय प्रयास । ११ महिना पछि पानीको अभाब समाप्त भयो ।
समयले धेरै राप ताप भोग्यो । युग बिस्तारै बदलिदै गए । जनतामा चेतना बढ्दै गयो । राणा शासन अन्त भो, पन्चायत आयो । बहुदल आयो । त्यहि पानीले जीवन गुजारा गर्दैछौ । बस्तीको बिस्तार हुँदै गयो । मानिसको बसोबास बक्लिदै गयो । पानीको अभाब बढ्न थाल्यो ।
दिनहुँ माथिल्लो टोल र तल्लो टोल झगडा हुन थाल्यो । कारण पानीको हुन्थ्यो । तल बस्ती लाछि मुख्य चोक चार वटा च्चोछे टोल, इटोल, वटोल र दुटोलको सगंम स्थल । सोह्रखुट्टे पाटीमा दिनहुँ गरमागरम बहस छलफल । टोल टोलको झगडा । माथिल्लो टोलमा पानी आएन भनेर हुल मान्छे आएर हरिसिद्धी स्थानको पानी आउने धारा घनले हानेर फुटउन आए । तिमिहरुले मात्र खाने हामीले खानु पर्दैन ? भन्दै धारा फुटाए । अम्बरे उक्साउने, इन्द्रे घनले हान्ने । जत्ति हाने नि फट्दैन । निक्कै बलियो रहेछ । गनि राखेको थिएँ १६ पटक हान्दा बल्ल आगलागी हुँदा पानी निकाल्ने ठाउँको घुमाउने ह्याण्डल भाँच्यो । आसपास सबै तमासे झै उभिएर हेर्दैछन मानौ टोलमा कुनै बहादुर अन्त भएको छ । र इन्द्रे मात्र एउट पात्र हो बहादुर यस्तो भान भै रहेको छ । मानौ लाछी नामर्दहरुको चोक हो । कोहि बोल्दैन आज । शहरको मुख्य स्थान होचो, वटोल र चोच्छे टोल, सबै भन्दा होचो ठाउँकोमा पानी आयो माथी आएन भन्ने बुझाईले फुटाउन खोजेका रहेछन ।
यत्तीकैमा गोफ्ले बुढोलाई राणा सरकारले दिए । श्रीनाथ ब्यान्जुले मिलाएर ब्यबस्था गरे । यहि पानीले गर्दा मुग्लान र बसाई नसरी बस्न पाएका छन । आज यसको कुन तरिकाले सबैलाइ मिलाएर खाने त्यो ब्यबस्था कसरी गर्ने भनेर छलफल गरेर टुङ्याउने कि यो धारा फुटाउने ? पचास बर्ष भयो यो पानी ब्यबस्था भएको । के भएर पानी अभाब भो भनेर बुझ्नु छैन ? आज तिमिहरु जस्तो नौ जवानले कि नयाँ ल्याउनु प¥र्यो कि यसको तरिका मिलाएर खाने कुरा गर्नुप¥र्यो । मुर्खताको पनि हद हुन्छ । हट यो फुटाउने काम नगर नत्र म यहि लौरोले हानौला भन्दै अघि स¥यो । बिस्तारै आसपासका तमासेहरु हो हो भन्दै कराउदै जाई लाग्न थाले । एउटा खानेपानीको समस्या हल गरु भन्नू छैन । पुर्खाले बनाएको धारा तोडफोड गर्ने के तमासा हो । सक्छौ भने नया पानीको खोज गरौ । मैले जिन्दगी बिताए पानी को लागि तर कोहि नव जवानले समस्याको समाधान होइन बिबादको भारी बनाउदै छ्न । यस्तो पाराले हुन्न । भोलि पन्चायत बोलाउने यो सोह्रखुट्टे पाटीमा भन्दै जुर्मुरिदै कराए । एक्कै छिन पछि धाराको टुटी मान्छेको तानातानले झरी सकेको रहेछ पानीको फोहरा परपर सम्म बग्न थालेको छ । हल्ला खल्ला बढन थाल्यो । टुटी भाँचेको ठाउँमा बोराको टुक्रा कोच्न थाले । पानीको गति कम हुँदै गयो । मानिसहरु बिस्तारै घट्न थाले । रात पर्न लाग्दै छ । चिसो पनि बढि राखेको छ । सबै आफनो घर तिर गए ।
बिहान सबै सोह्रखुट्टे पाटीमा जम्मा भएका छन । सल्लाह गर्दै गर्दा अब नया ट्याङ्की बनाउने, स्थानीयले चन्दा उठाउने र कम्तिमा चार टोलमा ट्यान्की निर्माणको तयारी गर्ने सहमती गरे । नयाँ पानीको खोज र ब्यबस्थापन गर्ने पन्चायतको निर्णय सुनाए । समय प्रकारान्तले नया पुष्ताले यसको कार्यभार लिने न्हँुछे साहुले सबै लाई बताए ।
गोफ्ले मन मनै सोच्दै थिए झगडा हुँदै जाँदा समाधान को लागि पनि नयाँ पहलको सिलसिला हुँदो रहेछ । हिजो जे जसरी नराम्रो भए पनि आज राम्रो भयो । सहमति भएकोमा खुसी थिए गोफ्ले बुढा आज । हरेक बादलमा चाँदिको घेरा हुन्छ भने झै धुलिखेलमा नया खानेपानीको पहल यहाँको समाजसेवीहरुको नया प्रयत्न खोज्न थाले र क्रमश धुलिखेलमा जर्मनी सरकारले सहयोग गर्ने गरि धुलिखेल बिकास परियोजना सञ्चालन गर्ने अनि खानेपानीको लागि भुमिडाँडासँग पहल हुन थाल्यो । जर्मन पानीको कथा प्रारम्भ भयो । पहाडको बस्ती खोला नभएको र स्रोतको अन्य सम्भाबना नभएकोले निरन्तर प्यास र प्यास मेटाउने जमर्कोमा लागिरहने धुलिखेल र यहाँका मानिसको सिलसिला चलि रहेको छ ।

प्रकाशित मिति: २२ कात्तिक २०७७, शनिवार १४:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु