मन्त्रीको शपथ बिहीबार ,को-को बन्दै छन् मन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठनलाई अन्तिम रुप दिएका छन् । उनले केही मन्त्रीलाई हटाएका छन् भने केहीलाई नयाँ नियुक्त गरेका छन् । केहीको जिम्मेवारी हेरफेर गरेर राष्ट्रपति कार्यालयमा सूची पठाएका छन् ।
रिक्त हुने मन्त्रालयमा नयाँ मन्त्रीलाई जिम्मेवारी दिई बिहीबार नै शपथ गराउने कार्यक्रम छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नामावली टुङगीए पनि नयाँ मन्त्रीहरुको सपथ भने भोली मात्र हुने जानकारी दिनुभयो ।
नेकपा स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय खोसेर नेकपा नेता भानुभक्त ढकाललाई दिएका छन् । कानुनमन्त्री ढकाल स्वास्थ्यमन्त्री बन्ने भएका छन् भने उपेन्द्र यादव कानुनमन्त्री हुँदैछन् ।
यादव हाल भारत भ्रमणमा छन् । हालै सम्पन्न समाजवादी पार्टीर्को बैठकले तत्काल सरकार नछाड्ने निर्णय गरे लगत्तै प्रधानमन्त्रीले यादवको जिम्मेवारी हेरफेर गरेका हुन् ।
ओलीले घनश्याम भुसाल, वसन्त नेम्बाङ, हृदयस त्रिपाठीदेखि मोति दुगडसम्मलाई मन्त्री बनाउने तयारी गरेका छन्। पूर्वमाओवादी समूहले रामेश्वर राय यादव र लेखराज भट्टलाई मन्त्री बनाउने तयारी गरेको छ।प्रधानमन्त्री निकट स्रोतका अनुसार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईको जिम्मेवारी यथावत रहनेछ ।
ओलीले पूर्वएमालेतर्फबाट मन्त्री नियुक्त गर्ने विषयमा नेताहरू विष्णु पौडेल, वामदेव गौतम र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग परामर्श गरेको बालुवाटार स्रोतले बतायो।
प्रकाशित मिति: ४ मंसिर २०७६, बुधवार १६:३५ बजे