६ चैत २०८१, बुधवार

कोही पनि भूमिहीन र सुकुम्बासी हुनुपर्दैन : मन्त्री अर्याल

कास्की । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले देशमा अब कोही पनि भूमिहीन बन्नु नपर्ने बताएकी छन् । कास्कीको प्रतिनिधिसभा उपनिर्वाचनका सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सुकुम्बासी निर्वाचन परिचालन उपसमितिले आज आयोजना गरेको छलफल कार्यक्रममा उहाँले भूमि विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनबाट सर्वसम्मत पारित भएकाले त्यसकै आधारमा सरकारले भूमिहीन र सुकुम्बासीलाई जमीन उपलब्ध गराउने स्पष्ट पारिन् ।

संविधानले नै सबै नागरिकलाई आवासको हकको व्यवस्था गरेकाले वर्तमान सरकारको पाँचवर्षे कार्यकालभित्रमा नै सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या दीर्घकालीन समाधान गरेर उनीहरुलाई जमीनको मालिक बनाउने मन्त्री अर्यालले उल्लेख गरिन् । उाले भनिन्, “सुकुम्बासी व्यवस्थापन देशको वर्षौंदेखिको समस्या हो, यसको समाधानबिना समृद्ध नेपालको सपना पूरा हुन सक्दैन । त्यसका लागि सरकारले कानून निर्माण गरी प्राथमिकतामा राखेको छ ।”

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य श्रीनाथ बरालले कम्युनिष्ट सरकारले मात्र आम जनताका चाहना पूरा गर्ने भएकाले सबै समस्याको समाधान गर्ने बताए । अखिल नेपाल सुकुम्बासी सङ्घका केन्द्रीय सचिव अर्जुन मल्लले आफ्नो नाममा जमीन नभएका तथा १० वर्षदेखि बसोबास गर्दै आएकालाई सरकारले सोही ठाउँमा उनीहरुको श्रेस्ता कायम गर्नुपर्ने माग गरे ।

उपसमिति संयोजक लक्ष्मीप्रसाद अधिकारी र सहसंयोजक ओमबहादुर पौडेलले सहभागीलाई कम्युनिष्ट सरकारप्रति भरोसा गर्न आग्रह गरे ।-रासस

प्रकाशित मिति: ४ मंसिर २०७६, बुधवार १६:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु