धुलिखेलमा उत्साहसाथ मनाइयो नयाँ वर्ष २०७८, हजारौं आन्तरिक पर्यटकको भ्रमण

धुलिखेल । नयाँ वर्ष मनाउन धुलिखेलका पर्यटकीय क्षेत्र पुरानो बजार सरस्वती बजार ,हजार सिडि देखि देविस्थान सम्म आन्तरिक पर्यटकले भरिएका छन् । यहाँका अधिकांश स्थानमा आन्तरिक पर्यटकले भरिएका छन् । कोरोना भाइरस सङ्क्रमण महामारीका कारण भएको बन्दाबन्दीले गत वर्षको नयाँ वर्षमा सुनसान बनेकाे धुलिखेलको पर्यटकीयस्थल यो नयाँ वर्षमा भने आन्तरिक पर्यटकले खचाखच भएका हुन् ।
धुलिखेल नगरपालिकाले बनाएको सरस्वती बजारमा रहेको पार्क देखि देविस्थान मन्दिरमा रहेको पार्क र बलभद्र कुँवर पार्क सम्म आन्तरिक पर्यटकको आगमन भएको छ ।
सुन्दर पर्यटकीय नगर धुलिखेलमा आज करिब पचास हजारको हाराहारिमा घुम्न अनि रम्न आउने पर्यटकहरुको आगमनको धुलिखेल नगरपालिकाको नगर प्रमुख अशोक ब्याञ्जुले निरीक्षण तथा अनुगमन गर्नुभयो ।
आज विक्रम संवत् दुई हजार अठहत्तर (२०७८) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइएको छ । वर्षको पहिलो दिन धेरै मानिस मठमन्दिरमा गई पूजा आराधना गरेका छन् । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिनका रुपमा मनाइने प्राचीन परम्परा छ । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा माधव भट्टराई बताउनुहुन्छ ।
सूर्य मेष राशिमा प्रवेश गर्दा शुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष शुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वान्को भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि विक्रम संवत्मा भएको छ । कलियुग शुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् शुरु भएको हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता-असफलता मूल्याङ्कन गरी असफलता दोहरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गरेका छन् । आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गती तथा इष्टमित्रसँग सामाजिक सञ्जाल वा फोन सम्पर्कबाट भेटघाट गरी एकापसमा शुभकामना व्यक्त गरी नयाँ वर्ष मनाइएको छ ।
प्रकाशित मिति: १ वैशाख २०७८, बुधवार २०:०० बजे