वडा अध्यक्षमा काभ्रेबाट ११ महिला प्रतिस्पर्धामा

काभ्रे — जिल्लाका १ सय ३५ मध्ये ११ वडाको अध्यक्ष पदमा महिला उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रमुख दल कांग्रेसले ३, एमालेले ४, माओवादी केन्द्रले १ गरी ८ वटा वडामा महिलालाई उम्मेदवार बनाएका छन् भने सामाजिक एकता पार्टी, नेकपा परिवर्तनबाट १/१ जना उम्मेदवार महिला छन् । पाँचखाल ४ को वडाअध्यक्षमा पार्वती विक स्वतन्त्र उम्मेदवार उठेकी छन् ।
कांग्रेसले बनेपा–८ मा शुभलक्ष्मी मानन्धर, भुम्लु–६ मा सावित्री माझी, रोशी–९ मा मुकुमाया तामाङ, एमालेले धुलिखेल–८ मा गिता तामाङ, बनेपा–१४ मा निर्मला तामाङ, मण्डनदेउपुर–९ मा अम्बिका ठकुरी, रोशी–११ मा चन्द्रमाया तामाङ र माओवादी केन्द्रले पनौती–४ मा सुशिला सुवाललाई उम्मेदवार बनाएको छ । सामाजिक एकता पार्टीबाट धुलिखेल–१० मा मैयादेवी श्रेष्ठ, नेकपा परिवर्तनबाट रोशी–१२ मा बुद्धिमाया तामाङ उम्मेदवार छन् ।
कांग्रेसबाट बनेपा–८ मा अध्यक्ष पदका उम्मेदवार शुभलक्ष्मी मानन्धर टिकट पाउन सहज नै भएको अनुभव सुनाउँछिन् । ‘दिदी अघि बढ्ने हो भने हाम्रो पनि समर्थन छ भनेर पुरुष दाजुभाइहरुले पनि सहज नै लिनुभयो,’ नेपाल महिला संघ काभ्रे अध्यक्ष समेत रहेकी मानन्धरले भनिन्, ‘कांग्रेस यसअघि जितेको वडा भएको कारण जित्न पनि असहज नहोला भन्ने लाग्छ ।’ भर्खरै शिक्षक पदबाट राजीनामा दिएर वडाअध्यक्षको उम्मेदवार बनेकी मानन्धर बनेपाको डुबान समस्या हल गरेर, अरनिको राजमार्गमा आकाशे पुल बनाउने र लायकु दरबारको संरक्षण गर्ने आफ्नो प्राथमिकतामा रहेको बताउँछिन् । टिकट पाउन असहजता नभोगेकी मानन्धर त्यसपछि केही अप्ठ्यारा रहेको सुनाउँछिन् । ‘सबैका साथ, सहयोग नै छ, तर महिला उम्मेदवार भएका कारण केही फरक अनुभव भने छन्,’ उनले भनिन्, ‘मलाई प्रत्यक्ष भन्नु भएको त छैन तर प्रचार प्रसारमा हिँड्ने साथीहरुको व्यवस्थापनमा केही असहज मान्नु भएको हो की जस्तो लाग्छ, पुरुष साथीहरुबाटै ती कुरा पनि व्यवस्थापन गरेको छु ।’
धुलिखेल–८ मा एमालेबाट उम्मेदवार रहेकी गिता तामाङ महिला उम्मेदवारलाई थप चुनौती भएको स्विकार्छिन् । ‘पुरुषको तुलनामा महिलालाई थप चुनौती छ तर त्यसलाई सहज रुपमा लिएको छु,’ २०७४ सालमा वडा सदस्य निर्वाचित उनले भनिन्, ‘पुरुष साथीभाइको पनि उत्तिकै साथ, सहयोग छ, जित्नेमा आशावादी छु ।’ पार्टीमा टिकटको लागि अरुको पनि दाबी भएपनि सक्षम देखेर पार्टीले टिकट दिएको तर्क गर्दै आफूसहित पार्टीका उम्मेदवारलाई विजयी बनाउने उनको योजना छ । बाटो, स्वास्थ्य, शिक्षा, खानेपानी, बिजुलीको समस्या समाधान गर्ने अठोट लिएकी उनले वडालाई पर्यटकीय क्षेत्र बनाउने योजना बनाएकी छन् ।
नेकपा (माओवादी केन्द्र) को तर्फबाट पनौती–४ मा अध्यक्षको उम्मेदवार रहेकी सुशिला सुवाल ९ –१० जना पुरुष आकांक्षीकाबीच आफूले टिकट पाएको तर्क गर्छिन् । ‘म राजनीतिमा निरन्तर सक्रिय छु, महिला स्वयंसेविकाको रुपमा पनि काम गरेको छु, वडामा म नपुगेको घर छैन,’ उनले भनिन्, ‘चुनावी खर्चको लागि पनि समस्या छैन, जनताले माया गरेर घरमा नै खाना खुवाउनु भएको छ, सवारीसाधनका लागि पुरुष साथीहरुबाटै सहयोग छ । आफ्नो पक्षमा माहोल रहेको भन्दै उनले महिला पनि सक्षम रहेको सन्देश दिन आफ्नो उम्मेदवारी रहेको बताइन् ।
सिमान्तकृत समुदायको प्रतिनिधित्व गर्ने सावित्री माझी भुम्लु गाउँपालिका–६ मा कांग्रेसबाट वडाअध्यक्ष उम्मेदवार बनेकी छन् । माझी महिला उत्थान संघमार्फत सामाजिक काममा सक्रिय उनी राजनीतिमा प्रवेश गरेको छोटो समयमा नै पार्टीको जिल्ला कार्यसमिति सदस्यमा निर्वाचिन भएकी थिइन् । ‘सक्रियता र क्षमताले नै मलाई पार्टीले उम्मेदवार बनाएको हो,’ उनले भनिन्, ‘पार्टीले जस्तै जनताले पनि विश्वास गर्नुहुन्छ गर्नुहुन्छ भन्ने विश्वास छ ।’ खानेपानीको व्यवस्था, सर्वसुलभ स्वास्थ्य सेवा तथा एम्बुलेन्सको प्रबन्ध, कृषिजन्य सामाग्रीको सहजता र समानुपातिक वितरण, रोजगारी सिर्जना गर्न काम गर्ने उनले बताइन् । निर्वाचन अभियानमा महिलालाई आर्थिक कठिनाई हुने उनी स्विकार्छिन् । ‘प्रतिस्पर्धामा उत्रिएपछि आफू कमजोर देखिनुपनि भएन, आर्थिक रुपमा निकै कठिन छ, सापटी मागेर सामान्य खर्च चलाइरहेका छौं,’ उनले भनिन् ।
स्थानीय तहको निर्वाचन २०७४ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र रुपमा ११ जना महिला उम्मेदवार बनेपनि कोही पनि निर्वाचित भएका थिएनन् ।
प्रकाशित मिति: २२ वैशाख २०७९, बिहीवार २०:१५ बजे